logo

२०८३ भाद्र १९ शुक्रबार

‘चलचित्र निर्देशन’ तालिम सुरु

‘चलचित्र निर्देशन’ तालिम सुरु

845
SHARES
‘चलचित्र निर्देशन’ तालिम सुरु

आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ।

चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा शनिबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन कोशी प्रदेशका माननीय नम्बरलाल धिमालले गर्नुभएको हो।

आगामी बैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा चलचित्रकर्मी सहभागी छन्। तालिमको सहजीकरण चलचित्र निर्देशक अरुण प्रधानले गरिरहनुभएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डको तर्फबाट बोर्डका अधिकृत अप्सरा समालको सहभागिता रहेको छ।

मातृभाषी चलचित्रमार्फत स्थानीय भाषा, संस्कृति, मौलिक कथा र समुदायको पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। विशेषगरी धिमाल समुदायका युवालाई चलचित्र निर्देशनको आधारभूत ज्ञान, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियासम्बन्धी सीप प्रदान गर्ने लक्ष्य तालिमले लिएको छ।

चलचित्र विकास बोर्डले मातृभाषी चलचित्र, स्थानीय सर्जक तथा आदिवासी जनजाति समुदायका कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवर्द्धन र विस्तार गर्न यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

बोर्डका अनुसार मातृभाषी चलचित्रको विकास केवल चलचित्र निर्माणसँग मात्र सम्बन्धित नभई भाषा, संस्कृति, पहिचान र स्थानीय प्रतिभा विकाससँग पनि जोडिएको विषय हो। दमकमा सुरु भएको तालिमले धिमाल समुदायका युवा चलचित्रकर्मीलाई आफ्नै भाषा र संस्कृतिका कथा चलचित्रमार्फत अभिव्यक्त गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।


आइतबार, १३ बैशाख २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go