logo

२०८३ भाद्र २९ सोमबार

‘पार्वती’ले तेस्रो सातामा प्रवेश गर्दा २ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन

‘पार्वती’ले तेस्रो सातामा प्रवेश गर्दा २ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन

0
SHARES
‘पार्वती’ले तेस्रो सातामा प्रवेश गर्दा २ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन

रसुवाको बाढीले सिर्जना गरेको प्रतिकूल अवस्थाबीच प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ले घरेलु बक्स अफिसमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। भदौ १२ गतेबाट प्रदर्शनरत चलचित्रले तेस्रो सातामा प्रवेश गर्दा २ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार भदौ २८ गतेसम्म ‘पार्वती’ले २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ। यो अवधिमा चलचित्रका ७३ हजार २२३ टिकट बिक्री भएका छन्। पहिलो १० दिनमा डेढ करोडभन्दा बढी कमाएको फिल्मले पछिल्लो सात दिनमा मात्रै ४६ लाख रुपैयाँभन्दा बढी जोडेको हो।

यस वर्ष २ करोड रुपैयाँको व्यापारिक आँकडा पार गर्ने नेपाली चलचित्रको सूचीमा ‘पार्वती’ चौथो स्थानमा पुगेको छ। यसअघि ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’ले यो आँकडा पार गरिसकेका छन्।

यता, भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ले पनि बक्स अफिसमा उल्लेख्य उपस्थिति देखाएको छ। बोर्डको तथ्यांकअनुसार प्रदर्शनको पहिलो १० दिनमा चलचित्रले ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाएको छ। भदौ महिनामा प्रदर्शन भएका नेपाली चलचित्रमध्ये यो दोस्रो ठूलो कमाइ हो। आइतबारसम्म चलचित्रका २४ हजार ४८३ टिकट बिक्री भइसकेका छन्।

यसैबीच, ‘गौँथली’ले भने घरेलु बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ५९ दिनमा २५ करोड ९३ लाख ७४ हजार ७५० रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ।

भदौ २८ गतेसम्म ‘गौँथली’ हेर्ने दर्शकको संख्या ९ लाख ४० हजार ५६२ पुगेको छ। करिब २६ करोडको व्यापार नजिक पुगेको यो चलचित्र नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो चलचित्रका रूपमा स्थापित भइसकेको छ।


सोमबार, २९ भाद्र २०८३
सम्बन्धित समाचार
Go