फिल्मको कथा र पात्रबारे दर्शकमा उत्सुकता बढाउने मुख्य प्रचार सामग्रीका रूपमा ट्रेलरलाई लिइन्छ। सामान्यतः प्रदर्शनको करिब दुई साताअघि ट्रेलर सार्वजनिक गर्ने चलन रहे पनि पछिल्लो समय रिलिजको केही दिनअघि मात्रै ट्रेलर ल्याउने क्रम बढ्दो छ। यही प्रवृत्तिलाई पछ्याउँदै चलचित्र ‘झिँगेदाउ २’ले पनि प्रदर्शनको चार दिनअघि आफ्नो ट्रेलर सार्वजनिक गरेको छ।
असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि केही समय प्रचार अभियान रोकिएको थियो। त्यसैकारण निर्माण पक्षले निर्धारित समयभन्दा ढिलो ट्रेलर सार्वजनिक गरेको जनाएको छ।
तीन मिनेटभन्दा लामो ट्रेलरले चलचित्रको मुख्य कथा र द्वन्द्वलाई दर्शकमाझ प्रस्तुत गर्छ। घरबाट निस्किएकी आमालाई सम्पत्तिको स्वार्थमा छोरा र बुहारीले खोज्दै हिँडेको प्रसंग ट्रेलरको प्रमुख केन्द्रमा छ। आमाको खोजीका क्रममा उत्पन्न हुने घटनाक्रमसँगै जेठानी–देउरानीबीचको सम्बन्ध र विवादलाई पनि रोचक ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरले ‘झिँगेदाउ २’ केवल पारिवारिक झगडामा सीमित नरहेर आमाको महत्त्व, पारिवारिक सम्बन्ध र सम्पत्तिका कारण सिर्जना हुने भावनात्मक द्वन्द्वलाई कथाको आधार बनाएको संकेत गर्छ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, उत्तम केसी र शिवहरी बैरागी नेपाललगायत कलाकारको अभिनय छ।
यसैबीच चलचित्रको तीज विशेष गीत ‘धागो छिन्यो चर्खाको’ पनि पछिल्लो समय चर्चामा छ। गीतपछि ट्रेलरले दर्शकको ध्यान तानेसँगै अब असोज २ गतेबाट हलमा चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd