दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’ले प्रचार अभियानलाई तीव्र बनाएको छ। असोज ३० गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको फिल्मको पहिलो गीत ‘जुनेली’ सोमबार हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो।
सुगम पोखरेलको स्वर रहेको ‘जुनेली’मा युग भुसालको शब्द तथा संगीत छ। गीतको मास्टरिङ रुप महराले गरेका हुन्। आकर्षक सेट र मेकिङमा तयार पारिएको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाही (काफिया)लाई प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा समीर र कृशुको जोडीसँगै उनीहरूको नृत्यलाई पनि प्राथमिकता दिइएको छ। दुवैको डान्स स्टेपमा फरकपन देखिन्छ भने नृत्यमा समीर केही बढी छरितो देखिएका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई महेश पौडेलले खिचेका हुन्। दृश्य निर्माण र सेटअपका हिसाबले ‘जुनेली’को भिडियो आकर्षक देखिन्छ।
अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा देखिँदैछन्। फिल्ममा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय छ।
विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रकी निर्माता सरस्वती भट्ट हुन्। महेश पौडेल डीओपी रहेको फिल्ममा राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा सन्तोष सरकारको लेखन छ। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्। कालाचरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ।
‘१२ गाउँ २’ सन् २०८१ मा प्रदर्शनमा आएको सफल चलचित्र ‘१२ गाउँ’को दोस्रो श्रृंखला हो। पहिलो भागले घरेलु बक्स अफिसमा करिब २० करोड रुपैयाँको व्यापार गरेको थियो। यही फिल्ममार्फत विराज भट्टका छोरा समीर भट्टले अभिनयमा डेब्यू गरेका थिए।
पहिलो फिल्मबाटै समीरले बनाएको दर्शक क्रेज ‘१२ गाउँ’को सफलताको एउटा महत्वपूर्ण पक्ष मानिएको थियो। अब सिक्वेलमा उनको लोकप्रियता, नयाँ गीतको चर्चा र एक्सनप्रधान प्रस्तुतिले बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd