logo

२०८३ भाद्र २९ सोमबार

पाँच दिने अभिनय कला तालिम सुरु

पाँच दिने अभिनय कला तालिम सुरु

819
SHARES
पाँच दिने अभिनय कला तालिम सुरु

चलचित्र विकास बोर्डले जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै भुजेल चलचित्रकर्मी संघसँगको सहकार्यमा पाँच दिने अभिनय कला तालिम सुरु गरेको छ ।

भुजेल चलचित्रकर्मी संघको आयोजना चलचित्र विकास बोर्डको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रम बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पछिल्लो समय चलचित्र विकास बोर्डले मूलधारसँगै जातीय, भाषिक र सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ । यही प्रयासको निरन्तरतास्वरूप भुजेल समुदायका कलाकार तथा चलचित्रकर्मीलाई लक्षित गरी अभिनय कला तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष रामगोपाल भुजेल, महासचिव हिलारी बन्धु भुजेललगायत विभिन्न जातीय चलचित्र संघका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक आरुस जंग मगर र चन्द्र बहादुर भुजेलले अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, क्यामेरा अगाडिको प्रस्तुति तथा कलाकारको व्यावसायिक अनुशासनबारे प्रशिक्षण दिनेछन् ।

भुजेल चलचित्रकर्मी संघका अध्यक्ष श्री अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले जातीय चलचित्र केवल मनोरञ्जनको माध्यम नभई भाषा, संस्कृति, इतिहास र समुदायको पहिचान संरक्षण गर्ने प्रभावकारी साधन भएको धारणा राखे । उनीहरूले चलचित्र विकास बोर्डले यस्ता तालिम तथा सहकार्यलाई निरन्तरता दिएमा मातृभाषी तथा जातीय चलचित्र क्षेत्र थप सशक्त बन्ने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको दायरा फराकिलो बनाउन सबै भाषा, संस्कृति र समुदायका चलचित्रकर्मीलाई अवसर, प्रशिक्षण र संस्थागत सहयोग आवश्यक रहेको बताए । उनले बोर्डले क्षमता विकास, सीप अभिवृद्धि र समावेशी चलचित्र वातावरण निर्माणका कार्यक्रमलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

आयोजकका अनुसार तालिमले भुजेल समुदायका नयाँ तथा सक्रिय कलाकारहरूलाई अभिनय क्षेत्रमा आत्मविश्वास र सीप विकास गर्न सहयोग पुर्‍याउनेछ । साथै, भुजेल भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।


आइतबार, २७ बैशाख २०८३
सम्बन्धित समाचार
Go