logo

२०८३ साउन ५ मंगलबार

‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा

‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा

130
SHARES
‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा

निर्माता जनक घर्ती मगरले नयाँ प्रेमकथामा आधारित चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। हालै सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरसँगै उनले आफ्नो नयाँ परियोजनाको औपचारिक जानकारी दिएका हुन्। ‘मितज्यू’ प्रदर्शनपछि छोटो अन्तरमै उनी अर्को फिल्म लिएर आएका हुन्।



जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यो चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक पोस्टरमा बादलले ढाकिएको आकाश, हल्का वर्षा र टाढासम्म फैलिएको पहाडी दृश्य समेटिएको छ। पोस्टरले जीवनका संघर्ष, पीडा, आशा र खुसीका क्षणलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

निर्माता जनक घर्ती मगरका अनुसार ‘आकाश वर्षा’ पूर्ण रूपमा प्रेमकथामा केन्द्रित हुनेछ। पछिल्ला वर्षहरूमा नेपाली चलचित्रमा लभस्टोरी विधा कम निर्माण भइरहेका बेला उनले यही जनरामा नयाँ कथा दर्शकमाझ ल्याउने तयारी गरेका हुन्।

चलचित्रको कथा निर्माता जनक स्वयंको परिकल्पनामा आधारित रहेको छ भने पटकथा तथा लेखन अमीर मगरले गरेका छन्। कलाकार तथा अन्य प्राविधिक टोलीबारे भने निर्माण पक्षले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

यसअघि जनकले निर्माण गरेका ‘घरज्वाइँ’ र ‘मितज्यू’ दुवै चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा निकै सफल बनेको थियो भने ‘मितज्यू’ले समीक्षकको प्रशंसा बटुलेको थियो।

नयाँ चलचित्र ‘आकाश वर्षा’ को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स ले लिएको निर्माण पक्षले जनाएको छ।


बुधबार, ३१ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go