logo

२०८३ साउन ४ सोमबार

विवादपछि ‘मास्टर्नी’को ‘म्याथ सिक्ने भए…’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

विवादपछि ‘मास्टर्नी’को ‘म्याथ सिक्ने भए…’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

143
SHARES
विवादपछि ‘मास्टर्नी’को ‘म्याथ सिक्ने भए…’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

फिल्म **‘मास्टर्नी’**को प्रचारका लागि सार्वजनिक गरिएको ‘म्याथ सिक्ने भए…’ गीत विवादमा परेपछि अन्ततः युट्युबसहित सबै डिजिटल प्लेटफर्मबाट हटाइएको छ। शुक्रबार साँझ निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले छुट्टाछुट्टै सामाजिक सञ्जालमार्फत दर्शकसँग क्षमायाचना गर्दै गीत हटाइएको जानकारी दिएका हुन्।



दुर्गेश थापाले हस्ताक्षरसहितको विज्ञप्ति सार्वजनिक गर्दै दर्शकबाट आएका सुझाव र प्रतिक्रियालाई सम्मान गर्दै आफ्नो युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट गीत हटाइएको बताएका छन्। उनले गीतका केही शब्द र प्रस्तुतिका कारण दर्शक तथा शिक्षक समुदायको भावनामा ठेस पुगेको स्वीकार गर्दै त्यसप्रति क्षमा मागेका छन्। साथै, गीत केवल फिल्मको प्रवर्द्धनका लागि मनोरञ्जनात्मक शैलीमा तयार गरिएको र शिक्षकप्रति आफ्नो सम्मान सधैँ कायम रहने उल्लेख गरेका छन्।

उता, प्रियंका कार्कीले पनि गीतका केही शब्द र दृश्यले शिक्षक-शिक्षिकाको गरिमामा असर पुगेको स्वीकार्दै व्यक्तिगत तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट क्षमायाचना गरेकी छन्। उनले यस घटनालाई आफ्नो लागि सिकाइको अवसरका रूपमा लिँदै भविष्यमा यस्ता विषयमा थप संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सार्वजनिक भएदेखि नै गीतमा प्रयोग गरिएका केही द्विअर्थी शब्द र प्रस्तुतीकरणको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको थियो। गीतले शिक्षक पेशाको सम्मानमा आँच पुर्‍याएको भन्दै फिल्म बहिष्कार गर्नेसम्मका अभियान चलेका थिए।

यसैबीच, नेपाल शिक्षक महासंघले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै गीत तत्काल हटाउन माग गरेको थियो। गीतविरुद्ध सञ्चार मन्त्रालयमा औपचारिक उजुरी समेत परेपछि बढ्दो विवादका बीच निर्माण पक्षले अन्ततः गीत हटाउने निर्णय गरेको हो।


शनिबार, २ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go