logo

२०८३ साउन ५ मंगलबार

साउनमै चम्कियो ‘गौँथली’, ३ दिनमै डेढ करोडको व्यापार

साउनमै चम्कियो ‘गौँथली’, ३ दिनमै डेढ करोडको व्यापार

  • Pradip
  • सोमबार, ४ साउन २०८३
78
SHARES
साउनमै चम्कियो ‘गौँथली’, ३ दिनमै डेढ करोडको व्यापार

असार–साउन नेपाली चलचित्र उद्योगका लागि सामान्यतया चुनौतीपूर्ण समय मानिन्छ। वर्षायामका कारण आवतजावतमा कठिनाइ हुनुका साथै किसानहरू धान रोपाइँमा व्यस्त हुने भएकाले हलमा दर्शकको चहलपहल कम हुने गर्छ। यही कारण अधिकांश निर्माता र वितरकले यो समयमा ठूलो लगानीका फिल्म प्रदर्शन गर्न हिच्किचाउँछन्। तर यस वर्ष साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ ले भने यो धारणा बदल्ने संकेत दिएको छ।



प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ। निर्माता सुमन गिरीका अनुसार पहिलो दिन ३५ लाख रुपैयाँको ओपनिङ गरेको फिल्मले पहिलो तीन दिनमै करिब डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डको तथ्यांकले पनि फिल्मको व्यापार उत्साहजनक रहेको देखाएको छ।

फिल्मको सफलताको मुख्य कारण यसको सशक्त कथा र सकारात्मक ‘वर्ड अफ माउथ’ मानिएको छ। फिल्म हेरेपछि भावुक बनेका दर्शकका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यही प्रतिक्रियाका कारण शनिबार र आइतबार देशभरका हलहरूले फिल्मका शो समेत थपेका थिए।

डा. कपिल रिजाल निर्देशित ‘गौँथली’को कथा आत्मनिर्भर बन्न चाहने एक युवतीको संघर्षमा केन्द्रित छ। विवाहपछि अटिज्म भएका श्रीमान् र पारिवारिक जिम्मेवारीबीच उनले सामना गर्ने चुनौतीलाई फिल्मले मार्मिक रूपमा प्रस्तुत गरेको छ। पुरानो सामाजिक परिवेशमा आधारित भए पनि यसको भावनात्मक प्रस्तुतीले विशेषगरी अघिल्लो पुस्ताका दर्शकलाई गहिरो रूपमा छोएको देखिन्छ।

सिम्रन खड्काको मुख्य भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ। बलियो कथा, संवेदनशील प्रस्तुति र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण ‘गौँथली’ बर्खायाममा समेत सफल व्यापार गर्ने नेपाली चलचित्रका रूपमा स्थापित हुँदै गएको छ।


सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go