logo

२०८३ साउन ११ सोमबार

शंकालाई चिर्दै ‘गौँथली’को दमदार कमब्याक, हलमा दर्शकको भीड

शंकालाई चिर्दै ‘गौँथली’को दमदार कमब्याक, हलमा दर्शकको भीड

  • Pradip
  • बिहिबार, ७ साउन २०८३
390
SHARES
शंकालाई चिर्दै ‘गौँथली’को दमदार कमब्याक, हलमा दर्शकको भीड

प्रदर्शनअघि धेरैले सफलता माथि शंका गरेको फिल्म ‘गौँथली’ अहिले भने बक्स अफिसमा लगातार उकालो लागिरहेको छ। पहिलो दिन करिब २० लाख रुपैयाँको सामान्य व्यापार गरेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि दोस्रो दिनदेखि नै गति समात्यो। त्यसयता व्यापार निरन्तर बढ्दो क्रममा छ।
मंगलबारको ‘हाफ टिकट डे’मा फिल्मले प्रदर्शनयताकै सर्वाधिक कमाइ गरेको बताइएको छ भने बुधबार अधिकांश प्रमुख सहरका साँझका शो हाउसफुल भएका छन्। नेपालगन्ज, बुटवल, चितवन, कपिलवस्तु, धरान, पोखरा तथा काठमाडौंका केही हलमा टिकट पाउनै कठिन भएको छ।
बुधबारको अकुपेन्सीका आधारमा फिल्मले करिब एक करोड रुपैयाँ हाराहारीको एकदिने व्यापार गर्ने अनुमान गरिएको छ। यदि यो अनुमान सही ठहरिएमा ‘गौँथली’ले प्रदर्शनयताकै उच्च एकदिने कमाइको कीर्तिमान बनाउनेछ। विशेषगरी महिला दर्शकको उल्लेख्य उपस्थितिले फिल्मको व्यापारलाई थप मजबुत बनाएको देखिन्छ।
दर्शकको बढ्दो आकर्षणसँगै देशभर फिल्मका शो पनि उल्लेख्य रूपमा थपिएका छन्। पहिलो दिन करिब १२० शोबाट प्रदर्शन सुरु भएको फिल्म बुधबारसम्म आइपुग्दा २०० भन्दा बढी शोमा पुगेको वितरक करण श्रेष्ठ (क्रेजी)ले जानकारी दिएका छन्। बिहीबार अझ धेरै शो थपिने तयारी छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ। बालविवाहको विषयलाई केन्द्रमा राख्दै श्रीमान्–श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको फिल्म अहिले मुखैमुखको प्रचारकै बलमा सफलताको उचाइतर्फ अघि बढिरहेको छ।




बिहिबार, ७ साउन २०८३
सम्बन्धित समाचार
Go