logo

२०८३ साउन १४ बिहिबार

मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन प्रक्रिया सुरु

मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन प्रक्रिया सुरु

0
SHARES
मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन प्रक्रिया सुरु

ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन प्रक्रिया सुरु गरेको घोषणा गरेको छ। काठमाडौँस्थित सोल्टी होटल मा आयोजित कार्यक्रममा यस वर्षको अडिसन औपचारिक रूपमा सुरु गरिएको जानकारी दिइएको हो।



यसपटक प्रतियोगिता ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने मूल नारासहित सञ्चालन हुँदैछ। आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, आत्मविश्वासी, बौद्धिक र नेतृत्व क्षमता भएका महिलाहरूको खोजी गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरी ले यस संस्करणलाई अघिल्ला वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाउन विशेष तयारी गरिएको बताइन्। उनका अनुसार अगस्ट १ मा अडिसन आयोजना हुनेछ भने प्रतियोगिताको ग्रान्ड फिनाले ६ सेप्टेम्बरमा सोल्टी होटलमै सम्पन्न गरिनेछ।

आयोजक संस्थाकी सीईओ सबि पुरी ले यस वर्षको प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन पाउने जानकारी दिइन्। साथै विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन) महिलाहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले स्पष्ट पारिन्।

मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारी को चर्चित कार्यकालपछि सुरु भएको नयाँ संस्करणले नेपालभित्र मात्र होइन, विश्वका विभिन्न देशमा रहेका नेपाली मूलका युवतीहरूलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। आयोजकले महत्वाकाङ्क्षी युवतीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्न खुला आह्वान गरेको छ।

प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकार ले सम्हाल्नेछन्। आयोजकले प्रतियोगीहरूलाई ‘के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ?’ भन्ने सन्देशसहित मुख्य प्रतिस्पर्धामा सहभागी हुन निमन्त्रणा दिएको छ।

यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक मुद्दाप्रतिको प्रतिबद्धता र नेतृत्व क्षमता लाई विशेष महत्त्व दिइने बताइएको छ। सौन्दर्य प्रतियोगितालाई केवल बाह्य आकर्षणमा सीमित नराखी सामाजिक प्रभाव र व्यक्तित्व विकाससँग जोड्ने लक्ष्य आयोजकले राखेको जनाएको छ।

यस वर्ष प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड ‘दिपल’ रहेको छ। त्यस्तै एक्स–एजअमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा जोडिएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि आवश्यक अवसर र वातावरण उपलब्ध गराउन सबै साझेदार संस्था प्रतिबद्ध रहेको आयोजकले जनाएको छ।

एमएडब्लु भृद्धि का प्रबन्ध निर्देशक विवेक सिकारिया ले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागि गर्वको विषय भएको बताए।

आयोजकका अनुसार आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ। इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।


बिहिबार, १४ साउन २०८३
सम्बन्धित समाचार
Go