logo

२०८३ साउन १४ बिहिबार

चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ आयोजना गर्ने घोषणा

चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ आयोजना गर्ने घोषणा

0
SHARES
चलचित्र विकास बोर्डले  ‘ओल्ड इज गोल्ड’ आयोजना गर्ने घोषणा

चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव को अवसर पारेर पुराना नेपाली चलचित्रलाई समर्पित विशेष प्रदर्शनी ‘ओल्ड इज गोल्ड’ आयोजना गर्ने घोषणा गरेको छ। नेपाली सिनेमाको ऐतिहासिक धरोहरलाई जोगाउने, प्रवर्द्धन गर्ने तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग पुनः जोड्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ।



प्रदर्शनी साउन २२ गतेदेखि २७ गतेसम्म काठमाडौंको चलचित्र विकास बोर्ड परिसर, फिल्म बोर्ड चोक मा आयोजना हुनेछ। बोर्डका अनुसार नेपाली चलचित्र इतिहासमा विशेष स्थान बनाएका १० क्लासिक चलचित्र दर्शकका लागि निःशुल्क प्रदर्शन गरिनेछन्। ती चलचित्र तत्कालीन शाही नेपाली चलचित्र संस्थान बाट निर्माण भएका र बोर्डको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका चलचित्र हुन्।

कार्यक्रमको उद्घाटन साउन २२ गते शुक्रबार हुनेछ। पहिलो दिन दिउँसो १२ बजे निर्देशक हिरासिंह खत्री को ऐतिहासिक चलचित्र ‘आमा’ प्रदर्शन गरिनेछ।

साउन २३ गते शनिबार बिहान ११ बजे निर्देशक प्रकाश थापा को ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ प्रदर्शन हुनेछ।

साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापाको ‘मनको बाँध’ तथा दिउँसो २ बजे निर्देशक प्रदीप रिमाल को चर्चित चलचित्र ‘के घर के डेरा’ देखाइने कार्यक्रम तय गरिएको छ।

साउन २५ गते सोमबार दिउँसो १२ बजे निर्देशक प्रेमबहादुर बस्न्यात को ‘कुमारी’ प्रदर्शन हुनेछ।

त्यसैगरी साउन २६ गते मंगलबार बिहान ११ बजे निर्देशक लक्ष्मीनाथ शर्मा को ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन गरिनेछ।

प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्माको ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापाको ‘जीवनरेखा’ प्रदर्शन हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन गरिनेछ।

प्रदर्शनीमार्फत पुराना नेपाली चलचित्रमा प्रतिबिम्बित समाज, संस्कृति, भाषा, रहनसहन र तत्कालीन चलचित्र निर्माण प्रविधि बारे वर्तमान पुस्ताले प्रत्यक्ष अनुभूति लिन सक्ने विश्वास बोर्डले व्यक्त गरेको छ। साथै, यस कार्यक्रमले नेपाली चलचित्रको संरक्षण, अभिलेखीकरण, अध्ययन तथा अनुसन्धानप्रति रुचि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ।


बिहिबार, १४ साउन २०८३
सम्बन्धित समाचार
Go