बहुप्रतीक्षित बलिउड चलचित्र ‘रामायणम्’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक नितेश तिवारी ले तयार पारेको यस महाकाव्यात्मक फिल्ममा रणवीर कपूर भगवान् राम र यश लंकाधिपति रावणको भूमिकामा प्रस्तुत भएका छन्। सार्वजनिक ट्रेलरले राम र रावणबीचको निर्णायक संघर्षलाई भव्य शैलीमा देखाउने प्रयास गरेको छ।
ट्रेलरमा साई पल्लवी, रवि दुबे, अरुण गोविल, विवेक ओबेरोय, रकुल प्रीत सिंह लगायत कलाकारहरूको पनि झलक समावेश गरिएको छ।
ट्रेलरको सुरुआत रावणको रहस्यमय प्रवेशबाट हुन्छ। फकिरको भेषमा दरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले उनको परिचय सोध्छन्। त्यसको जवाफमा उनी भन्छन्, ‘तिमीहरूको नयाँ राजा।’ त्यसपछि उनले दरबारको विशाल ढोका बलपूर्वक खोलेर भित्र प्रवेश गर्ने दृश्य प्रस्तुत गरिएको छ।
त्यसपछिको दृश्यमा रावणको गम्भीर आवाज सुनिन्छ— ‘देवलोक, पृथ्वीलोक र पाताललोक… अब तीनै लोकमा एउटै शासन हुनेछ, रावणराज।’ यही संवादसँगै ट्रेलरले उनको शक्ति र अहंकारलाई प्रमुख रूपमा स्थापित गरेको छ।
रावणको उग्र रूपपछि कथा अयोध्यातर्फ मोडिन्छ। राजा दशरथ को भूमिकामा रहेका अरुण गोविल यज्ञ र हवन गरिरहेको देखिन्छन्। रावणको अत्याचारले देवता र राजाहरू त्रसित भएपछि भगवान् विष्णुले पृथ्वीमा अवतार लिने निर्णय गर्छन्। त्यसपछि उनी दशरथका पुत्र राम का रूपमा जन्म लिन्छन्।
राम बनेका रणवीर कपूर ट्रेलरमा विभिन्न राक्षस र विशाल जनावरसँग युद्धरत देखिएका छन्। चलचित्रले उनको वीरता र धर्मरक्षाको अभियानलाई केन्द्रमा राखेको संकेत गर्छ। लारा दत्ता ले रानी कैकेयी को भूमिका निर्वाह गरेकी छन्, जसले रामका लागि १४ वर्षको वनवास माग्ने प्रसंगलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। राजा दशरथले भारी मनका साथ रामलाई वनवास पठाउने दृश्यले ट्रेलरलाई थप मार्मिक बनाएको छ।
साई पल्लवी ले माता सीता को भूमिका निर्वाह गरेकी छन्। ट्रेलरमा उनी सरल, शान्त र सौम्य स्वरूपमा देखिएकी छन्। वनवासमा रामसँगै जाने आफ्नो इच्छा व्यक्त गर्ने दृश्यले सीताको समर्पण र प्रेमलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
यसअघि सार्वजनिक गरिएको फिल्मको पहिलो टिजर ले भने सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको थियो। विशेषगरी भिजुअल इफेक्ट्स र केही राक्षस पात्रहरूको डिजाइनलाई लिएर आलोचना भएको थियो। तर जुलाई १८ मा नयाँ दिल्लीमा आयोजित ‘प्रथम संकल्प’ कार्यक्रममा सार्वजनिक गरिएको नयाँ ट्रेलर ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताइएको छ।
निर्माण पक्षका अनुसार ‘रामायणम्’ करिब ४ हजार करोड भारतीय रुपैयाँ को विशाल बजेटमा निर्माण भइरहेको छ। चलचित्रलाई दुई भागमा प्रदर्शन गरिनेछ। पहिलो भाग यस वर्ष दीपावलीको अवसरमा नोभेम्बर ८ मा रिलिज गर्ने तयारी गरिएको छ।
चलचित्रमा सनी देओल ले हनुमान को भूमिका निर्वाह गरेका छन्। यद्यपि सार्वजनिक ट्रेलरमा उनको दृश्य समावेश गरिएको छैन, जसले दर्शकमाझ थप उत्सुकता बढाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd