logo

२०८३ असोज ३० शुक्रबार

तीजको मौका छोप्दै ‘पेन्सन पट्टा’, दर्शक बढेपछि हलमा थपिए शो

तीजको मौका छोप्दै ‘पेन्सन पट्टा’, दर्शक बढेपछि हलमा थपिए शो

  • kollywood 1
  • मंगलबार, ३० भाद्र २०८३
234
SHARES
तीजको मौका छोप्दै ‘पेन्सन पट्टा’, दर्शक बढेपछि हलमा थपिए शो

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको सुरुवाती दिनमै दर्शकको राम्रो साथ पाउन सफल भएको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले तीजको अवसरमा विशेषगरी पोखरा, चितवन, झापा र काठमाडौँका हलमा उत्साहजनक दर्शक पाएको हो।

तीजको व्रत परेको सोमबार चलचित्रले काठमाडौँका एफक्युब, सिटी स्क्वायर, लबिम र सिभिललगायतका हलमा राम्रो उपस्थिति देखाएको थियो। पोखरा, लमजुङ, दमौली, बुटवल, दमक तथा चितवनलगायतका स्थानमा पनि चलचित्र हेर्न दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ।

चलचित्रप्रति दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले यसको चर्चा अझ बढाएको छ। दर्शकको संख्या बढ्दै गएपछि केही हलमा चलचित्रका प्रदर्शन समयसमेत थपिएका छन्। निर्देशक माओत्से गुरुङले आफूहरूले अपेक्षा गरेको समयमा चलचित्र प्रदर्शन गर्दा दर्शकको राम्रो साथ पाएको बताएका छन्।

दर्शकको प्रतिक्रिया बुझ्न चलचित्रका अभिनेता दयाहाङ राई, निर्देशक माओत्से गुरुङसहित निर्माण टोली केही हलमा पुगेका थिए। पोखरालगायतका स्थानमा पुगेको टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गरेको थियो। सो क्रममा दर्शकले दयाहाङसँग तस्बिर तथा सेल्फीसमेत खिचाएका थिए।

निर्देशक गुरुङका अनुसार चलचित्रले शुक्रबार र शनिबारभन्दा सोमबार अझ राम्रो व्यवसाय गरेको छ। तीजका कारण दर्शक बढेपछि प्रदर्शनका लागि थप समय उपलब्ध भएको उनको भनाइ छ।

यद्यपि चलचित्रले हालसम्म कति आम्दानी गर्‍यो भन्ने विषयमा निर्माण पक्षले स्पष्ट आँकडा सार्वजनिक गरेको छैन। देशभरका हलबाट सम्पूर्ण विवरण प्राप्त भइनसकेकाले अहिले नै कुल व्यवसायको यकिन तथ्यांक भन्न नसकिने निर्देशक गुरुङले बताएका छन्।

सुरुवाती प्रदर्शनमै दर्शकको उत्साहजनक साथ र सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’ को आगामी व्यापारप्रति निर्माण पक्ष उत्साहित देखिएको छ।


मंगलबार, ३० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go