logo

२०८३ भाद्र ३० मंगलबार

क्यान्सर पीडितको सहयोगका लागि मिरा राणाको एकल सांगीतिक साँझ

क्यान्सर पीडितको सहयोगका लागि मिरा राणाको एकल सांगीतिक साँझ

  • kollywood 1
  • मंगलबार, ३० भाद्र २०८३
13
SHARES
क्यान्सर पीडितको सहयोगका लागि मिरा राणाको एकल सांगीतिक साँझ

वरिष्ठ गायिका तथा संगीतकार मिरा राणाले क्यान्सर पीडितको सहयोगका लागि विशेष एकल सांगीतिक साँझ आयोजना गर्ने भएकी छन् । आगामी असोज ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनको एकल सांगीतिक कार्यक्रम हुँदैछ ।

७५ वर्षीया राणाले आफ्नो जीवनकै अन्तिम सांगीतिक कार्यक्रमका रूपमा यसलाई प्रस्तुत गर्न लागेको बताएकी छन् । आफू स्वयं क्यान्सरलाई परास्त गर्न सफल भए पनि यही रोगका कारण पति उदयजंग राणालाई गुमाएकी उनले क्यान्सर पीडितको सहयोगका लागि ‘मिरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छन् ।

कार्यक्रमबाट संकलन हुने रकम समाजको कोषमा जम्मा गरी क्यान्सरबाट प्रभावित तथा उपचाररत बिरामीलाई सहयोग गर्ने उद्देश्य राखिएको छ । संगीतमार्फत मनोरञ्जनसँगै सामाजिक सेवाको सन्देश दिने कार्यक्रमका रूपमा एकल सांगीतिक साँझ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा मिरा राणाले गाएका तथा संगीत भरेका करिब दुई दर्जन गीत विभिन्न चर्चित गायक–गायिकाले आफ्नै शैलीमा प्रस्तुत गर्नेछन् । शम्भुजित बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया लगायतका कलाकारको प्रस्तुति रहनेछ ।

त्यस्तै, क्यान्सरलाई जितेका गायिका तारा थापा र संगीता थापा शाक्यसहित निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा र युनिशा देशारले पनि राणाका गीत गाउनेछन् ।

राणा स्वयंले पनि कार्यक्रममा आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन् । स्वरसम्राट नारायण गोपालसँग गाएको ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ र ‘बैनीको दया छ’ लगायतका गीत कार्यक्रममा प्रस्तुत हुने बताइएको छ ।

कार्यक्रमको संगीत संयोजन तथा सञ्चालनको जिम्मेवारी मनोहर सुनामले सम्हाल्नेछन् । लामो सांगीतिक यात्रापछि राणाले गर्न लागेको यो विशेष कार्यक्रमले संगीतप्रेमीसँगै क्यान्सर पीडितका लागि सहयोग जुटाउने अपेक्षा गरिएको छ ।


मंगलबार, ३० भाद्र २०८३
सम्बन्धित समाचार
Go