logo

२०८३ भाद्र ३० मंगलबार

विपद्का कारण तीजमा फुर्सदिला बने कलाकार, वर्षौंपछि परिवारसँगै मनाउँदैछन् चाड

विपद्का कारण तीजमा फुर्सदिला बने कलाकार, वर्षौंपछि परिवारसँगै मनाउँदैछन् चाड

  • kollywood 1
  • मंगलबार, ३० भाद्र २०८३
0
SHARES
विपद्का कारण तीजमा फुर्सदिला बने कलाकार, वर्षौंपछि परिवारसँगै मनाउँदैछन् चाड

तीजका अवसरमा स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त रहने नेपाली कलाकारहरू यसपटक भने परिवारसँगै समय बिताइरहेका छन्। देशमा आएको प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित भएपछि कलाकारहरूलाई लामो समयपछि घरपरिवारसँगै तीज मनाउने अवसर जुटेको हो।

तीज महिला कलाकारका लागि व्यस्त समय मानिन्छ। हरेक वर्ष तीज विशेष कार्यक्रमका लागि कलाकारहरू देशका विभिन्न सहरदेखि विदेशसम्म पुग्ने गरेका थिए। तर यसपटक बाढी तथा अन्य प्राकृतिक विपत्तिका कारण धेरै कार्यक्रम रोकिएपछि उनीहरूको नियमित दौडधुप पनि रोकिएको छ।

चर्चित गायिका रचना रिमाल करिब पाँच वर्षपछि तीजको समयमा आफ्नै घर झापामा परिवारसँग छिन्। विगतमा तीजकै समयमा स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त रहने रिमालले यसपटक परिवारसँग बसेर तीजको परम्परा र सांस्कृतिक पक्ष बुझ्ने अवसर पाएकी छन्। बाढीको विपत्तिपछि उनले विदेशमा तय भएका कार्यक्रमसमेत रद्द गरेर नेपाल फर्किएकी हुन्।

त्यस्तै, गायिका शान्तारानी परियारले पनि विदेशमा तय भएका कार्यक्रम छाडेर स्वदेशमै तीज मनाउने निर्णय गरेकी छन्। विपत्तिको समयमा विदेशमा गएर सांगीतिक कार्यक्रममा सहभागी हुनुभन्दा आफ्नै देशमा परिवार तथा दिदीबहिनीहरूसँग समय बिताउनु उचित लागेको उनको भनाइ छ।

गायिका मेलिना राई पनि लामो समयपछि तीजको समयमा नेपालमै छिन्। हङकङमा तय भएका सांगीतिक कार्यक्रम बाढीका कारण स्थगित भएपछि उनी परिवारसँग समय बिताउँदै नयाँ गीतको तयारीमा समेत लागेकी छन्। लामो समयपछि कामको व्यस्तताबाट केही विश्राम मिलेको उनले बताएकी छन्।

यस्तै, गायिका कला लम्साल पनि यसपटक तनहुँस्थित आफ्नो जन्मथलोमा परिवारसँग तीज मनाइरहेकी छन्। प्राकृतिक विपत्तिका कारण केही कार्यक्रम रोकिएका छन् भने देशको अवस्थालाई ध्यानमा राख्दै कतिपय कार्यक्रम आफैँले नगर्ने निर्णय गरेको उनले बताएकी छन्।

कलाकारहरूका लागि तीज आम्दानी र व्यस्तताको महत्वपूर्ण समय भए पनि यसपटक विपत्तिले उनीहरूको सांगीतिक यात्रामा ब्रेक लगाएको छ। यद्यपि, यही परिस्थितिले वर्षौँपछि परिवारसँग बसेर चाडपर्व मनाउने र आफ्नो संस्कृति तथा परम्परालाई नजिकबाट अनुभव गर्ने अवसरसमेत दिएको छ।


मंगलबार, ३० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go