हरितालिका तीजको माहोलमा दर्शक–श्रोताको रोजाइमा परेको चलचित्र ‘झिँगेदाउ २’को गीत ‘धागो छिन्यो चर्खाको’पछि निर्माण पक्षले अर्को नयाँ गीत सार्वजनिक गरेको छ । मंगलबार ‘ए माया नजिकै सर’ बोलको गीत रिलिज गरिएको हो ।
‘धागो छिन्यो चर्खाको’ले युट्युबमा रिलिज भएको १२ दिनमै करिब ५० लाख भ्यूज बटुलिसकेको छ । तीजको दिन सोमबार मात्रै उक्त गीतमा ५ लाखभन्दा बढी भ्यूज थपिएको थियो । युट्युबसँगै गीतका अडियो तथा भिडियोमा आधारित हजारौँ टिकटक, रिल्स र शर्ट्ससमेत बनेका छन् ।
तीज गीतले दर्शकको राम्रो साथ पाएपछि सार्वजनिक गरिएको ‘ए माया नजिकै सर’ भने दसैंको परिवेशमा तयार पारिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टलाई प्रस्तुत गरिएको छ । दसैंको पारिवारिक र सांस्कृतिक माहोललाई भिडियोमार्फत देखाउने प्रयास गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र असोज २ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछ । चलचित्रमा केकी, आँचल, महेश र कुशलसँगै हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीलगायतको अभिनय छ ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा विष्णु घिमिरे (कल्पित) डीओपी, मित्र डी गुरुङ सम्पादक तथा अर्जुन पोखरेल संगीतकार छन् । रामजी लामिछानेले कोरियोग्राफी र रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् ।
चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd