नेपाली लोकदोहोरी संगीतमा नयाँ प्रतिभाको खोजी र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार गरिएको सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ असोज ४ गते आइतबारदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ ।
एभेन्टोज स्टुडियोको आयोजनामा तयार भएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजे एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिभिजनका साथै दर्शकले एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि कार्यक्रम हेर्न सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको दोस्रो सिजनमा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार कोमल ओली, राजु परियार र चन्द्र शर्मा निर्णायकका रूपमा रहनेछन् । उनीहरूले सहभागी प्रतिभाको गायन क्षमता, प्रस्तुति र लोकदोहोरीसँगको सम्बन्धलगायत पक्षका आधारमा मूल्याङ्कन गर्नेछन् ।
आयोजक यादवबहादुर थापाका अनुसार ‘लोक दोहोरी स्टार’ले नयाँ पुस्ताका प्रतिभाशाली गायक तथा गायिकालाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपाली लोकदोहोरीको मौलिकता र सांस्कृतिक पक्षलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको दोस्रो सिजन तयार गरिएको उनको भनाइ छ ।
नयाँ प्रतिभाको खोजी गर्नुका साथै नेपाली लोकदोहोरी संगीतको संरक्षण र प्रवर्द्धनलाई कार्यक्रमले प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । दोस्रो सिजनमार्फत लोकदोहोरी क्षेत्रमा रहेका नयाँ प्रतिभालाई थप अवसर र पहिचान दिलाउने अपेक्षा गरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd