अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने सुन्दरी छनोटका लागि ‘मिसेस नेपाल वर्ल्ड २०२६’ आयोजना हुने भएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते हुने आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ ।
आयोजकले प्रतियोगिताका लागि २२ जना विवाहित महिलालाई अन्तिम प्रतिस्पर्धीका रूपमा सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न चरणका प्रशिक्षण पूरा गरेपछि ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका प्रतिस्पर्धीमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दीप्ति ढुङ्गेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अन्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन रहेका छन् ।
आयोजकका अनुसार यसपटक विभिन्न क्षेत्रका विवाहित महिला प्रतियोगितामा सहभागी भएका छन् । गृहिणीसँगै डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यकर्मी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसमेत प्रतियोगितामा छन् । सहभागीहरूलाई आवश्यक प्रशिक्षणसँगै ब्याच र स्यास वितरण गरिसकिएको छ ।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगिताको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विजेतालाई विभिन्न उपहारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल, मिसेस एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत छनोट गरिनेछ । यी विधाका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजकको भनाइ छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd