नेपालमा प्रदर्शनमार्फत चर्चा बटुलेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘हली’ अब बेलायतका दर्शकमाझ पुग्ने भएको छ । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्र असोज ४ गते बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा विशेष प्रदर्शन गरिने भएको हो ।
बेलायतमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै प्रदर्शनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडले जनाएको छ । निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार बेलायतमा रहेका नेपाली दर्शकलाई चलचित्रको कथासँग जोड्ने उद्देश्यले विशेष प्रदर्शन आयोजना गर्न लागिएको हो ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको ‘हली’ले छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपरेको सामाजिक पीडा, विभेद र दुर्व्यवहारलाई कथाको मुख्य विषय बनाएको छ । सामाजिक चेतना र परिवर्तनको सन्देश बोकेको चलचित्रले नेपालमा प्रदर्शनअघि नै ट्रेलर, प्रचारगीत र पोस्टरमार्फत दर्शकमाझ चर्चा पाएको थियो ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको प्रचारगीतमा भने दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत चर्चित कलाकारको नृत्यसमेत समेटिएको छ ।
‘हली’मा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सहनिर्मात्री, लक्ष्मण कर्माचार्य लाइन निर्माता र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।
जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको गीत पनि चलचित्रमा समावेश गरिएको छ । चलचित्रको नृत्य निर्देशन ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन् ।
नेपालमा नेशनल सिने ग्रुप प्रालिले वितरण गरिरहेको ‘हली’को डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ । नेपालमा सामाजिक विषयवस्तुमार्फत दर्शकको ध्यान तानेको चलचित्रले बेलायतको विशेष प्रदर्शनबाट नेपाली डायस्पोराका दर्शकसँग पनि आफ्नो कथा जोड्ने तयारी गरेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd