logo

२०८३ असोज ६ मंगलबार

नयाँ जज र नयाँ शैलीसहित ‘कमेडी च्याम्पियन’को चौथो सिजन

नयाँ जज र नयाँ शैलीसहित ‘कमेडी च्याम्पियन’को चौथो सिजन

  • kollywood 1
  • सोमबार, ५ असोज २०८३
65
SHARES
नयाँ जज र नयाँ शैलीसहित ‘कमेडी च्याम्पियन’को चौथो सिजन

हास्य कलाकारको खोजी गर्ने चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ नयाँ स्वादसहित चौथो सिजनमा फर्किएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि शोको नयाँ सिजन प्रसारण सुरु गरिएको हो ।

शोको पहिलो भाग ग्रान्ड प्रिमियरका रूपमा हिमालय टेलिभिजनबाट राति ९ बजे प्रसारण भएको छ । ओएसआर रियालिटीको युट्युब च्यानलबाट पनि पहिलो भाग सार्वजनिक गरिएको छ । सुरुवाती भागमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी अतिथिका रूपमा सहभागी भएका थिए ।

चौथो सिजनमा सबैभन्दा ठूलो परिवर्तन निर्णायक मण्डलीमा गरिएको छ । पहिलो, दोस्रो र तेस्रो सिजनमा निर्णायक रहेकी ऋचा शर्मा भने यसपटक पनि निरन्तर छिन् । मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र कार्यक्रमका निर्देशक विशाल भण्डारीलाई ल्याइएको छ ।

निर्देशक भण्डारीका अनुसार अघिल्ला तीन सिजनमा एउटै निर्णायक मण्डली हुँदा हास्य प्रस्तुति, ठट्टा र भित्री मजाकको शैली दोहोरिन थालेको महसुस भएपछि नयाँपनका लागि जज प्यानल परिवर्तन गरिएको हो । नयाँ सिजनमा फरक किसिमका जोक, नयाँ शैली र थप ताजा रोस्ट प्रस्तुत गर्ने तयारी गरिएको उनको भनाइ छ ।

कार्यक्रम सञ्चालनमा पनि परिवर्तन गरिएको छ । मेक्सम गौडेलले प्रस्तोता भूमिकालाई निरन्तरता दिएका छन् भने रीमा विश्वकर्माको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ । रीमा विश्वकर्मा सांसद बनेपछि उनको ठाउँमा नम्रतालाई जिम्मेवारी दिइएको हो ।

चौथो सिजन करिब ३० भागसम्म सञ्चालन हुने निर्देशक भण्डारीले बताएका छन् । थ्री प्रोडक्सन टिमको प्रस्तुति रहेको कार्यक्रमका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन् ।

निर्देशक भण्डारीले ‘कमेडी च्याम्पियन’सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् । उनका अनुसार प्रत्येक सिजन नयाँ प्रतिभाहरू कार्यक्रममार्फत बाहिर आउने र हास्य क्षेत्रमा आफ्नो करियर बनाउने अवसर पाउने गरेका छन् ।

उनले केही प्रतियोगी हास्य प्रस्तुतिको अनुभव र तयारीसहित आउने गरेको तथा केही भने सामान्य जोकमार्फत छनोट हुँदै प्रतियोगिताको यात्रामा प्रवेश गर्ने गरेको बताएका छन् । तर जुनसुकै माध्यमबाट कार्यक्रममा आए पनि प्रतियोगिताको केही महिनाको यात्रामा उनीहरूले निरन्तर मेहनत गर्दै आफूलाई अब्बल हास्य कलाकारका रूपमा स्थापित गर्ने गरेको भण्डारीको भनाइ छ ।

नयाँ कलाकारको संघर्षदेखि उनीहरूको पहिचान निर्माणसम्मको यात्रालाई दर्शकले नजिकबाट हेर्न पाउने बताउँदै भण्डारीले आगामी सिजनमार्फत लुकेका प्रतिभालाई मञ्च दिने लक्ष्य रहेको बताएका छन् ।


सोमबार, ५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go