सहरका पुराना मिथक, लोककथा र सांस्कृतिक किंवदन्तीलाई नयाँ पुस्तासम्म पुर्याउँदै डिजिटल अभिलेखमा सुरक्षित गर्ने उद्देश्यसहित नेपाल प्रज्ञा प्रतिष्ठानले ‘कथा डबली’ नामक नयाँ शृंखला सुरु गर्ने भएको छ ।
प्रतिष्ठानको काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागको आयोजनामा हुने पहिलो कार्यक्रम ‘कथा डबली–१’ अन्तर्गत काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्रासँग जोडिएका मिथक र किंवदन्ती प्रस्तुत गरिनेछ । कार्यक्रम असोज ८ गते बिहीबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुने जनाइएको छ ।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले इन्द्रजात्रासँग सम्बन्धित पुराना कथा, मिथक र किंवदन्ती वाचन गर्नेछन् । उनले काठमाडौं सहरको उत्पत्ति र यसको सांस्कृतिक वैभवसँग जोडिएका रोचक प्रसङ्गसमेत प्रस्तुत गर्नेछन् ।
कार्यक्रमलाई थप सांस्कृतिक र जीवन्त बनाउन परम्परागत नृत्यसमेत प्रस्तुत गरिनेछ । त्यस क्रममा उपत्यकाको चर्चित ‘लाखे प्याखं’ अर्थात् लाखे नाच तथा ‘कुमारी नृत्य’ मञ्चन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागले जनाएको छ ।
प्रतिष्ठानका अनुसार सहर तथा गाउँमा पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका लोककथा, सांस्कृतिक स्मृति र लोपोन्मुख मौखिक इतिहासलाई संरक्षण गर्दै प्रविधिको माध्यमबाट अभिलेखीकरण गर्ने उद्देश्यले ‘कथा डबली’ सुरु गरिएको हो ।
यो शृंखला काठमाडौंमा मात्र सीमित नरहने प्रतिष्ठानले जनाएको छ । आगामी दिनमा नेपालका विभिन्न सहर तथा गाउँमा समेत ‘कथा डबली’ आयोजना गर्दै स्थानीय मिथक, कथा, किंवदन्ती र सांस्कृतिक सम्पदालाई अभिलेखमा सुरक्षित गरिनेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd