चलचित्र ‘पाँच पाण्डव’लाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचना र विवादबीच हिन्दु धर्मगुरुहरूले फिल्म हेरेका छन् । सोमबार चलचित्र हेरेपछि उनीहरूले फिल्ममा हिन्दू धर्मको अपमान हुने कुनै पनि विषय नरहेको प्रतिक्रिया दिएका छन् ।
पोस्टर र ट्रेलर सार्वजनिक भएपछि केही दृश्य तथा पात्रको प्रस्तुतिलाई लिएर प्रश्न उठाउँदै आएका धर्मगुरुहरूले फिल्म हेरेपछि आफ्नो प्रारम्भिक आशंका गलत रहेको बताएका हुन् ।
उनीहरूका अनुसार चलचित्रले हिन्दू धर्म, महाभारत, पाँच पाण्डव, भगवद्गीता वा धार्मिक आस्थामाथि कुनै किसिमको प्रहार गरेको छैन । सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो विवादास्पद सामग्री पनि फिल्ममा नरहेको उनीहरूको निष्कर्ष छ ।
विशेषगरी पोस्टर र ट्रेलरमा द्रौपदीको पात्र देखाइएको विषयले उनीहरूको ध्यान तानेको थियो । यही कारण फिल्मप्रति असन्तुष्टि जनाउँदै विरोधसमेत गरेका थिए । तर, पूरा चलचित्र हेर्दा द्रौपदी नामको पात्र नै नरहेको उनीहरूले स्पष्ट पारेका छन् ।
‘पोस्टरमा द्रौपदी देखाइएको थियो । ट्रेलरमा पनि केही कुरा थिए । त्यसैले हामीले विरोध गरेका हौँ । तर, फिल्ममा हिन्दू धर्मलाई ठेस पुग्ने कुनै कुरा छैन,’ उनीहरूको प्रतिक्रिया छ ।
धर्मगुरुहरूले ‘पाँच पाण्डव’लाई सबैले हेर्नुपर्ने चलचित्रका रूपमा समेत व्याख्या गरेका छन् । यससँगै फिल्मलाई लिएर बाहिर सिर्जना भएको विवाद र वास्तविक कथावस्तुबीच फरक रहेको उनीहरूको भनाइ छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । लेखक सुशील पौडेलले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको बताएका छन् ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, विनोद न्यौपाने, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् । चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गरेको हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd