logo

२०८३ मंसिर ७ आइतबार

‘रामायण’को विश्वव्यापी कमाइ एक हजार करोड पार, आठ दिनमै बनायो नयाँ रेकर्ड

‘रामायण’को विश्वव्यापी कमाइ एक हजार करोड पार, आठ दिनमै बनायो नयाँ रेकर्ड

  • kollywood_khabar
  • आइतबार, ३० कार्तिक २०८३
117
SHARES
‘रामायण’को विश्वव्यापी कमाइ एक हजार करोड पार, आठ दिनमै बनायो नयाँ रेकर्ड

निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । रणवीर कपूर मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको आठ दिनमै विश्वव्यापी रूपमा एक हजार करोड भारुको ग्रस कलेक्सन पार गरेको छ ।

ट्रेड पोर्टल साक्निल्कका अनुसार बिहीबारसम्म फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारु कमाइ गरिसकेको छ । यो उपलब्धिसँगै ‘रामायण’ विश्व बक्स अफिसमा सबैभन्दा छिटो एक हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बनेको छ । यसअघि ‘पुष्पा २’ले ६ दिन र ‘धुरन्धर २’ले सात दिनमै उक्त आँकडा पार गरेका थिए ।

भारतीय बजारमा पनि फिल्मको प्रदर्शन उत्साहजनक देखिएको छ । आठ दिनमा फिल्मले भारतबाट ५६४ करोड भारु नेट तथा ६७५ करोड भारु ग्रस कलेक्सन गरेको साक्निल्कले जनाएको छ ।

घरेलु बजारको कमाइमा हिन्दी संस्करण सबैभन्दा अगाडि छ । हिन्दी भर्सनले मात्रै ४३७ करोड भारु नेट व्यापार गरेको छ । त्यस्तै, कन्नडमा ४८ करोड ९५ लाख, तेलुगुमा ३८ करोड ५ लाख, तमिलमा २२ करोड १४ लाख र मलयालममा १८ करोड ४५ लाख भारु नेट कलेक्सन भएको रिपोर्टमा उल्लेख छ ।

यस वर्षको सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा ‘रामायण’ दोस्रो स्थानमा उक्लिएको छ । फिल्मले ‘दृश्यम ३’, ‘जेलर २’ र ‘हनुमान’को लाइफटाइम कलेक्सनलाई समेत पछाडि पारेको छ । अब यसको अगाडि ‘धुरन्धर २’ मात्रै छ । उक्त फिल्मले भारतमा १ हजार १४९ करोड भारु नेट कमाएको छ । यो आँकडा पार गर्न सके ‘रामायण’ यस वर्षको सर्वाधिक कमाउने भारतीय फिल्म बन्नेछ ।

दुई भागमा निर्माण गरिएको ‘रामायण’मा रणवीर कपूर राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन् । त्यस्तै, रवि दुबे लक्ष्मण, अरुण गोविल दशरथ, लारा दत्ता कैकेयी, रकुल प्रीत सिंह शूर्पणखा, काजल अग्रवाल मन्दोदरी र आदिनाथ कोठारे भरतको भूमिकामा देखिएका छन् । फिल्मले दर्शकसँगै समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।


आइतबार, ३० कार्तिक २०८३
सम्बन्धित समाचार
Go