logo

२०८३ साउन ५ मंगलबार

राजेश हमालको बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि

राजेश हमालको बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि

481
SHARES
राजेश हमालको बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि

अभिनेता राजेश हमालले फेरि एकपटक बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली नागरिकलाई आकर्षक भाषणभन्दा प्रत्यक्ष परिणाम दिने काम आवश्यक रहेको बताएका हुन्।



उनले सरकारको पहिलो सय दिनको मूल्यांकन भाषण वा घोषणाका आधारमा नभई जनताले अनुभूति गर्न सक्ने उपलब्धि, सुशासन, जवाफदेहिता, रोजगारी सिर्जना र न्यायको प्रत्याभूतिका आधारमा हुनुपर्ने उल्लेख गरेका छन्। सरकारको सफलताको मापन व्यवहार र नतिजाबाट हुनुपर्ने उनको भनाइ छ।

हमालले नेपालको वर्तमान कूटनीतिक अवस्थाबारे पनि धारणा राख्दै विश्व शक्तिहरूबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाले नेपालमा समेत प्रभाव पारेको बताएका छन्। यस्तो अवस्थामा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने उनको सुझाव छ। सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै पनि नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा कुनै सम्झौता हुन नहुने उनले उल्लेख गरेका छन्।

हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र आगजनीप्रति संकेत गर्दै उनले लोकतान्त्रिक आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बताएका छन्। आफ्ना अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने नागरिक सम्मानका पात्र भए पनि कानून उल्लंघन गर्ने जोसुकैलाई निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ।

उनले राष्ट्रको दीर्घकालीन मजबुती संस्थागत सुदृढीकरण, विधिको शासन र राष्ट्रिय हितलाई दलगत स्वार्थभन्दा माथि राख्न सक्ने क्षमतामा निर्भर रहने बताएका छन्। साथै सबै नेपालीलाई विवेकशील, एकताबद्ध र राष्ट्रप्रति समर्पित भएर अघि बढ्न आग्रह गर्दै राजनीतिक आस्थाभन्दा देशप्रतिको प्रेम ठूलो हुनुपर्ने सन्देश दिएका छन्।

राजेश हमाल यसअघि पनि विभिन्न समयमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। फागुन २१ गतेको निर्वाचनअघि सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले नयाँ राजनीतिक शक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए, जसले त्यसबेला व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो। त्यसयता पनि उनले बालेन शाह नेतृत्वको सरकारबारे आफ्ना आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका छन्।


शुक्रबार, २६ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go