नेपालबाट ९९औँ एकेडेमी अवार्ड अर्थात् अस्करमा प्रतिस्पर्धाका लागि चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले यस चलचित्रलाई नेपालबाट अस्करको प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो ।
यस वर्ष अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि समितिमा दुई नेपाली चलचित्रले आवेदन दिएका थिए । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये समितिले ‘एलिफेन्ट्स इन द फग’लाई नेपालको प्रतिनिधि चलचित्रका रूपमा छनोट गरेको हो ।
समितिले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पलगायतका आधारमा दुवै चलचित्रको विस्तृत मूल्यांकनपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई सिफारिस गरिएको जनाएको छ ।
कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितिसकेको यो चलचित्र गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको छ । चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित एउटा बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ ।
अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन् । चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।
नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण भएको हो । नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन् ।
चलचित्रका सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाललगायत छन् ।
चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd