logo

२०८३ भाद्र २८ आइतबार

‘बेहुली’लाई दर्शकको उत्साहजनक साथ

‘बेहुली’लाई दर्शकको उत्साहजनक साथ

65
SHARES
‘बेहुली’लाई दर्शकको उत्साहजनक साथ

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बेहुली’ले दोस्रो दिन शनिबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ । पहिलो दिनदेखि नै सुखद सुरुवात गरेको चलचित्रले शनिबार भने अझै उच्च दर्शक चाप देखाएको निर्माण पक्षले जनाएको छ ।

करिब १०० शोबाट प्रदर्शन थालेको चलचित्रमा दर्शकको माग बढ्दै गएपछि मल्टिप्लेक्ससँगै एकल पर्दामा समेत शो सङ्ख्या थपिएको छ । चलचित्रप्रति दर्शकको चासो बढेसँगै हल सञ्चालकहरूले उपलब्ध शो थप गर्दै प्रदर्शनलाई विस्तार गरेका हुन् ।

चलचित्रको प्रचारप्रसारका लागि मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायतको टोली काठमाडौंका विभिन्न हलमा पुगिरहेको छ । कलाकारहरूले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै चलचित्रको प्रतिक्रिया लिइरहेका छन् । निर्माण पक्षका अनुसार दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेलले दर्शकको रुचिलाई ध्यानमा राखेर स्तरीय कथावस्तुमा चलचित्र निर्माण गरिएकाले ‘बेहुली’लाई दर्शकले मन पराएको बताएका छन् । उनका अनुसार चलचित्रले दर्शकको भावनासँग जोडिन सफल भएको छ ।

यता वितरक गोविन्द शाहीले पहिलो दिनदेखि नै चलचित्रको व्यापार उत्साहजनक रहेको र शनिबार बिदाको दिन भएकाले हलमा दर्शकको चाप झनै बढेको बताए । उनका अनुसार दर्शकको मागलाई सम्बोधन गर्न प्रदर्शनकै क्रममा थप शो उपलब्ध गराइएको हो ।

‘बेहुली’ले नेपाली समाजभित्रका यथार्थ भावना, युवा पुस्ताको मनोविज्ञान तथा पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई कथामार्फत प्रस्तुत गरेको छ । चलचित्रको लेखन माधव शर्माले गरेका हुन् भने निर्देशन शशान कँडेलले गरेका छन् ।

चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल रहेका छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन् ।


आइतबार, २८ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go