साउन १ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ ले प्रचारलाई परम्परागत शैलीभन्दा बाहिर निकाल्दै शनिबार काठमाडौं उपत्यकाका सडकमा फरक दृश्य सिर्जना गर्यो। चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का पात्रकै वेशभूषामा डोकोमा घाँस बोकेर दर्शकमाझ पुगिन्।
काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा सिम्रनलाई यसरी देखेपछि सर्वसाधारण उत्सुक बने। धेरैले उनीसँग सेल्फी खिचे भने चलचित्रबारे जानकारी पनि लिए। निर्माण टिमका अनुसार उनले दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै चलचित्र हेर्न आग्रह गरेकी थिइन्।
दर्शकलाई चलचित्रको विषयवस्तु समेटिएको ब्रोसर वितरण गर्दै सिम्रनले प्रत्यक्ष संवाद पनि गरिन्। उनका अनुसार धेरै दर्शकले ट्रेलर र अन्तर्वार्ता हेरेपछि चलचित्र हेर्ने योजना बनाइसकेको प्रतिक्रिया दिएका थिए। कतिपयले हल पुगेर पनि चलचित्र प्रदर्शन सुरु नभएकाले फर्किनुपरेको अनुभव समेत सुनाएका थिए।
दर्शकसँग प्रत्यक्ष भेटघाटले आफूलाई थप ऊर्जा र आत्मविश्वास दिएको सिम्रनको भनाइ छ। दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले चलचित्रप्रतिको उत्साह अझ बढेको उनले बताइन्।
निर्देशक कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ पछिल्ला दिनमा चर्चामा छ। चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहँदै दर्शकको ध्यान खिच्न सफल भएको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको भूमिकामा छन्।
डा. भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd