ललितपुरको ग्वार्कोमा रहेको चर्चित गुण सिनेमा नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। केही वर्षअघि नयाँ भवन निर्माणका लागि बन्द गरिएको सिनेमा हल अब अत्याधुनिक प्रविधिसहित आठवटा पर्दा लिएर साउन १ गतेदेखि दर्शकमाझ फर्किएको हो। शुक्रबार आयोजित विशेष कार्यक्रममा यसको औपचारिक उद्घाटन गरिएको थियो।
वि.सं. २०५२ सालदेखि करिब २७ वर्षसम्म चलचित्र प्रदर्शन गर्दै आएको गुण सिनेमाले २०७९ सालमा पुनर्निर्माणको काम थालेको थियो। आधुनिक पूर्वाधार र विश्वस्तरीय सुविधा थपिएपछि अब यो सिनेमा नयाँ अनुभवका साथ सञ्चालनमा आएको हो।
क्युएफएक्स सिनेमाजको व्यवस्थापनमा सञ्चालन हुने यस मल्टिप्लेक्समा ४१ देखि २६० सिट क्षमताका आठवटा हल रहेका छन्। सबै हलको कुल क्षमता करिब १,४०० दर्शकको रहेको छ।
हलहरूमा नवीनतम चलचित्र प्रदर्शन तथा ध्वनि प्रणाली जडान गरिएको छ। जीडीसी सर्भर, पल्ज र जेबीएल स्पिकर, डीटीएसःएक्स अडियो प्रणाली, एआईबी–३००० प्रोसेसर, बार्को टुके लेजर प्रोजेक्टर तथा सिल्भर स्क्रिनजस्ता आधुनिक प्रविधिले दर्शकलाई अझ स्पष्ट दृश्य र उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
पुनः सञ्चालन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गुण सिनेमा प्रालिका अध्यक्ष दिजेन्द्र शाक्यलाई आठवटै पर्दाको चलचित्र प्रदर्शन अनुमति पत्र हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा अध्यक्ष डीसीले गुण सिनेमाको पुनरागमनले नेपाली चलचित्र प्रदर्शन क्षेत्रलाई अझ आधुनिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार अत्याधुनिक सुविधा भएको यो मल्टिप्लेक्सले दर्शकलाई गुणस्तरीय सेवा दिनुका साथै नेपाली चलचित्रको बजार विस्तारमा समेत टेवा पुर्याउनेछ।
गुण सिनेमाको पुनः सञ्चालनसँगै ग्वार्को र आसपासका क्षेत्रका दर्शकले एउटै परिसरमा विभिन्न विधाका चलचित्र हेर्ने सुविधा पाएका छन्। आधुनिक भवन, बहुपर्दा प्रणाली र अत्याधुनिक प्रविधिसहितको यसको पुनरागमनलाई नेपाली चलचित्र प्रदर्शन उद्योगका लागि एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd