अभिनेत्री तथा वरिष्ठ नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको सम्झनामा स्थापना गरेको विशेष सम्मानलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन्। गत वर्षदेखि सुरु गरिएको यो अभियान अन्तर्गत विभिन्न विधामा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गरिने भएको हो।
गुरु पूर्णिमाको अवसरमा साउन १३ गते बुधबार काठमाडौंस्थित नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा आयोजना हुने नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा सम्मान प्रदान गरिने तय भएको छ।
यस वर्ष नृत्य क्षेत्रमा योगदान पुर्याएकी विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान–२०८३ प्रदान गरिनेछ। त्यसैगरी गायक तथा संगीतकार डा. किरण प्रधान गोपाल योञ्जन संगीत साधना सम्मान–२०८३ बाट सम्मानित हुनेछन्।
यस्तै, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान–२०८३ प्रदान गरिनेछ भने हास्य कलाकार तथा निर्देशक सन्तोष पन्त हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान–२०८३ बाट सम्मानित हुनेछन्।
कार्यक्रममा अभिनेता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान–२०८३ प्रदान गरिने जानकारी आयोजक पक्षले दिएको छ।
नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना कला यात्राका गुरुहरूको योगदानलाई पुस्तौँसम्म स्मरणीय बनाउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरिएको बताइन्। उनका अनुसार गुरुहरूको प्रेरणा र योगदानलाई सम्मान गर्ने यो प्रयास आगामी वर्षहरूमा पनि निरन्तर अघि बढाइनेछ।
शर्माले आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न नसकिने उल्लेख गर्दै, उनीहरूको नाममा सम्मान स्थापना गर्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको बताइन्। गुरुहरूको सम्झनालाई जीवित राख्ने यही उद्देश्यले आफूले यो अभियान सुरु गरेको उनको भनाइ छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd