logo

२०८३ साउन १३ बुधबार

‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन सम्पन्न

‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन सम्पन्न

104
SHARES
‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन सम्पन्न

चलचित्र ‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । पर्वतको प्राकृतिक सौन्दर्य बोकेको आर्थर डाँडाखर्कबाट सुरु गरिएको सुटिङ यात्रा मंगलबार अन्तिम चरणमा पुगेर टुंगिएको निर्माण टिमले जनाएको छ ।

जेठ १ गतेदेखि सुरु भएको छायांकन प्रारम्भिक चरणमै चुनौतीपूर्ण बनेको थियो । करिब १५ दिनको सुटिङपछि मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य रोक्नुपरेको थियो । उनको दाहिने हातको नाडीमा चोट लागेका कारण केही समय विश्राम गर्नुपरेको थियो । स्वास्थ्यमा सुधार आएपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरिएको थियो ।

निर्देशक सरोज पौडेलका अनुसार चलचित्रको सम्पूर्ण छायांकन पूरा गर्न करिब ४० दिन लागेको हो । उनले कलाकार र प्राविधिक टोलीको समर्पण र मेहनतप्रति आभार व्यक्त गर्दै दर्शकले मंसिर ४ गते गुणस्तरीय चलचित्र हेर्न पाउने विश्वास व्यक्त गरेका छन् ।

‘सिन्दुरे जात्रा’मा सरोज पौडेल, विजय बराल र अञ्जना बराइलीको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले चर्चित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेका थिए ।

अभिनेता विजय बरालले पनि चोटकै अवस्थाबीच छायांकन पूरा गर्नु चुनौतीपूर्ण भए पनि फिल्मको कथा र आफ्नो पात्रप्रति आफू अत्यन्त उत्साहित रहेको बताएका छन् ।

सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासहित विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार गरेका हुन् भने सबिन अधिकारी र वसन्त न्यौपानेले पटकथा तथा संवाद लेखेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा रहेका छन् । पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।

देशव्यापी वितरण आरआर फिल्म्सले गर्ने यस चलचित्र ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।


बुधबार, १३ साउन २०८३
सम्बन्धित समाचार
Go