स्टोरीटेलिङबाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता साइग्रेस पोखरेल अब नयाँ कमेडी फिल्म ‘फलानो ढिस्कानो’ मा मुख्य भूमिकामा देखिने भएका छन्। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।
साइग्रेसका लागि यो अभिनय यात्राको तेस्रो फिल्म भए पनि मुख्य अभिनेताको रूपमा पहिलो प्रस्तुति हुनेछ। यसअघि उनले अभिनय गरेको ‘आ बाट आमा’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
सार्वजनिक पोस्टरमा साइग्रेसलाई स्कुटरको पछाडिको सिटमा उल्टो फर्केर रमाइलो मुद्रामा बसेको देखाइएको छ। उनको घाँटीमा झुन्डिएको निलो ल्यानयार्डले उनी कुनै पत्रकार, कर्मचारी वा मिडियासँग सम्बन्धित पात्र हुन सक्ने संकेत गर्छ। पोस्टरमा देखिएको उनको हाउभाउले फिल्म हल्का-फुल्का हास्यप्रधान शैलीमा अघि बढ्ने अनुमान गर्न सकिन्छ।
फिल्मलाई राजकुमार ले निर्देशन गर्नेछन्। हालसम्म साइग्रेसबाहेक अन्य कलाकारको नाम सार्वजनिक गरिएको छैन। निर्माण पक्षले अर्को सातादेखि कलाकार तथा प्राविधिक टिमबारे क्रमशः जानकारी दिँदै जाने जनाएको छ।
द्रव्य प्रोडक्सन को ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन आगामी कात्तिक महिनामा सुरु गर्ने तयारी छ। निर्माण टिमले फिल्मको अनुमानित बजेट दुई करोड रुपैयाँ रहेको जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै साइग्रेसले अभिनयबाट टाढा रहने सोच बनाएको भए पनि फिल्मप्रतिको आकर्षणले फेरि फर्काएको बताए। उनले भने, ‘आ बाट आमा’पछि अब फिल्म नगर्ने सोच थियो। तर अभिनयको नशा लागेपछि नखेल्ने भनेको मान्छे तीनवटा फिल्मसम्म आइपुगेछ। ‘फलानो ढिस्कानो’ को कथा सुनेपछि त यो अवसर छाड्नै सकिनँ।’
निर्माण घोषणासँगै फिल्मले सामाजिक सञ्जालमा चासो बटुल्न थालेको छ। साइग्रेसको फरक शैलीको हास्य अभिनय र पत्रकारितासँग जोडिएको पात्रले दर्शकमाझ नयाँ उत्सुकता सिर्जना गरेको देखिन्छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd