डार्क हर्स इन्टरटेन्मेन्टले आफ्नो नयाँ महत्त्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’ को औपचारिक घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमार्फत चलचित्रको शीर्षक सार्वजनिक गरिएको हो।
प्रख्यात लेखक बुद्धिसागरको लेखनमा बन्न लागेको यो चलचित्रको निर्देशन सौरभ चौधरीले गर्नेछन्। निर्माणमा प्रवेश चौधरी र निला देव रहेका छन् भने सह–निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।
सार्वजनिक पोस्टरले चलचित्रको कथा र वातावरणबारे उत्सुकता बढाएको छ। आगोको लप्का, घोडामा सवार पात्र, ऐतिहासिक शैलीका दृश्य तथा रातो झण्डाको प्रयोगले युद्ध, विद्रोह र सत्ताको संघर्षलाई संकेत गरेको देखिन्छ। पृष्ठभूमिमा देखिएको नाटकीय दृश्यले पनि चलचित्र कुनै ऐतिहासिक वा काल्पनिक साम्राज्यको कथामा आधारित हुन सक्ने अनुमान गरिएको छ।
निर्देशक सौरभ चौधरीले यसपटक अघिल्ला कामभन्दा अझ ठूलो स्केलमा चलचित्र निर्माण गर्न लागेको संकेत दिएका छन्। निर्माण पक्षका अनुसार ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र उद्योगकै ठूलो क्यानभासमा बन्ने एपिक एक्सन ड्रामा हुनेछ।
कार्यकारी निर्माता शंकर पाण्डेले कलाकारको नाम केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन्। भदौको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको अधिकांश सुटिङ पूर्वी नेपालमा हुनेछ भने करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ।
चलचित्रको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन। निर्देशक चौधरीका अनुसार छायांकन र पोस्ट–प्रोडक्सनको काम सम्पन्न भएपछि मात्र रिलिज डेट घोषणा गरिनेछ।
मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरक रहेको यस चलचित्रले नेपाली इतिहासको कुनै अध्याय प्रस्तुत गर्ने हो वा काल्पनिक साम्राज्यको कथा भन्ने विषय भने अहिले गोप्य राखिएको छ। तर, सार्वजनिक भएको पहिलो पोस्टरले नै चलचित्रलाई यस वर्षको बहुप्रतीक्षित परियोजनामध्ये एक बनाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd