logo

२०८३ साउन १२ मंगलबार

पलेँटीमा फेरि गुञ्जिने मदनकृष्णको स्वर, छोरा यमन पनि साथमा

पलेँटीमा फेरि गुञ्जिने मदनकृष्णको स्वर, छोरा यमन पनि साथमा

0
SHARES
पलेँटीमा फेरि गुञ्जिने मदनकृष्णको स्वर, छोरा यमन पनि साथमा

नेपालयको ‘आर’शालामा हरेक अङ्ग्रेजी महिनाको अन्त्यतिर आयोजना हुँदै आएको लोकप्रिय सांगीतिक शृङ्खला पलेँटी यसपटक विशेष बन्ने भएको छ। हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली मनमा अमिट छाप छोडेका कलाकार मदनकृष्ण श्रेष्ठ लामो अन्तरालपछि पलेँटीको मञ्चमा गुञ्जिने भएका छन्।



मदनकृष्ण यसपटक आफ्ना छोरा यमन श्रेष्ठसँग संयुक्त रूपमा प्रस्तुत हुँदैछन्। विशेष कुरा के भने, उनले करिब १८ वर्षअघि पनि यही पलेँटी मञ्चमा गायन प्रस्तुति दिएका थिए। त्यस समयको अनुभव सम्झँदै उनले फेरि पलेँटीमा फर्किन पाउँदा उत्साहित रहेको बताएका छन्।

कार्यक्रममा उनले आफ्ना चर्चित पुराना गीतसँगै केही नयाँ सिर्जनासमेत सुनाउने तयारी गरेका छन्। ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ जस्ता गीतहरू आज पनि श्रोतामाझ उत्तिकै प्रिय मानिन्छन्।

यद्यपि मदनकृष्णलाई अधिकांश दर्शकले हरिवंश आचार्यसँगको हास्यव्यङ्ग्य यात्राबाट बढी चिन्छन्, उनको कलाकारिता भने गायनबाट सुरु भएको थियो। प्रारम्भिक दिनहरूमा उनले रेडियो नेपाल, भारतको अल इन्डिया रेडियो तथा दूरदर्शनमार्फत आफ्ना गीतहरू प्रस्तुत गरेका थिए।

स्वास्थ्यमा विभिन्न चुनौती देखिए पनि उनी पछिल्ला वर्षहरूमा पनि संगीत र फिल्म दुवै क्षेत्रमा सक्रिय रहँदै आएका छन्। केही समयअघि सार्वजनिक भएका ‘बिर्सिँदे भन्छौ मायालु’ र ‘पहाड भो मलाई’ शीर्षकका गीतहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन्।

यसपालिको अर्को आकर्षण यमन श्रेष्ठ हुनेछन्। बुबाकै प्रेरणामा कलाकारितामा अघि बढिरहेका यमन गायन, संगीत र हास्यव्यङ्ग्य अभिनय तीनै क्षेत्रमा सक्रिय छन्। उनले ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायतका गीत गाइसकेका छन्। आफ्ना धेरैजसो गीतका धुन उनी आफैं तयार गर्ने गर्छन्।

पलेँटीको अभ्यासका क्रममा मदनकृष्णले विगत सम्झँदै भने, ‘१८ वर्षअघि पनि पलेँटीमा गीत गाएको थिएँ। निकै रमाइलो लागेको थियो। यसपालि छोरासँगै मञ्चमा उभिन पाउँदा झन् विशेष महसुस भइरहेको छ। दर्शकले अझ बढी माया गर्नुहुनेछ भन्ने विश्वास छ।’

बुबाको कुरा सुनेर मुस्कुराइरहेका यमनले पनि उत्साह व्यक्त गर्दै भने, ‘रिहर्सल नै यति रमाइलो भइरहेको छ भने कार्यक्रम त झन् अझ रमाइलो हुने निश्चित छ।’

पलेँटी कार्यक्रम जुलाई ३१ शुक्रबार र अगस्ट १ शनिबार आयोजना हुनेछ। कार्यक्रम कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने छ। प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइन लाइभ स्ट्रिमिङको व्यवस्था समेत गरिएको छ। कार्यक्रम हेर्न चाहनेहरूले पलेँटीको वेबसाइटमार्फत लिंक बुक गर्न सक्नेछन्।


मंगलबार, १२ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go