logo

२०८३ साउन १३ बुधबार

१० वटा ऐतिहासिक नेपाली चलचित्रले जाँचपास प्रक्रिया पूरा

१० वटा ऐतिहासिक नेपाली चलचित्रले जाँचपास प्रक्रिया पूरा

156
SHARES
१० वटा ऐतिहासिक नेपाली चलचित्रले जाँचपास प्रक्रिया पूरा

तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेका र हाल चलचित्र विकास बोर्डको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० वटा ऐतिहासिक नेपाली चलचित्रले औपचारिक जाँचपास प्रक्रिया पूरा गरेका छन्। अब यी चलचित्रलाई कानुनी रूपमा सार्वजनिक प्रदर्शन गर्न सकिने भएको छ।



जाँचपास सम्पन्न भएका सबै चलचित्रले सबै उमेर समूहका दर्शकका लागि उपयुक्त ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। प्रमाणपत्र तथा सम्बन्धित कागजात उदयबहादुर राणाले बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका हुन्।

यसअघि चलचित्रहरू डिजिटल स्वरूपमा सुरक्षित राखिए पनि जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक प्रदर्शन सम्भव थिएन। नेपालमा कुनै पनि चलचित्रलाई सार्वजनिक रूपमा प्रदर्शन गर्न कानुनी रूपमा जाँचपास अनिवार्य हुने भएकाले यो प्रक्रिया महत्वपूर्ण मानिएको छ।

अब यी चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम, सांस्कृतिक समारोह तथा अनुसन्धानमूलक गतिविधिमा प्रदर्शन गर्न सकिने बाटो खुलेको बोर्डले जनाएको छ।

‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका ऐतिहासिक चलचित्र

  • कुमारी

  • सिन्दुर

  • आमा

  • बदलिँदो आकाश

  • के घर के डेरा

  • शान्तिदीप

  • जीवनरेखा

  • मनको बाँध

  • परिवर्तन

  • हिजो आज भोलि

यी चलचित्रलाई नेपाली समाज, संस्कृति, भाषा, जीवनशैली, कला तथा प्रारम्भिक चलचित्र निर्माण प्रविधिको दस्तावेजका रूपमा हेरिएको छ। नेपाली चलचित्रको विकासक्रम बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता र फिल्मकर्मीका लागि यी दृश्य–श्रव्य सामग्री महत्वपूर्ण स्रोत बन्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डले पुराना र दुर्लभ नेपाली चलचित्रको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण र संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ। अब जाँचपास पूरा भएका यी चलचित्रलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित विशेष प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ।

बोर्डका अनुसार यस पहलले नेपाली चलचित्रको ऐतिहासिक सम्पदालाई सुरक्षित राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने राष्ट्रिय अभियानलाई थप बल पुर्‍याउनेछ


बुधबार, १३ साउन २०८३
सम्बन्धित समाचार
Go