अस्ट्रेलियाको सिड्नीमा नेपाली चलचित्र ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकाल का अनुसार ग्रान्ड प्यालेस ओभनमा आयोजित विशेष प्रदर्शनले अपेक्षाभन्दा बढी दर्शकको साथ पाएको हो।
प्रिमियरसँगै आयोजना गरिएको भीआईपी डिनर शो मा दर्शकको उल्लेखनीय सहभागिता देखियो। करिब दुई सय दर्शकका लागि तयार गरिएको हलमा तीन सयभन्दा बढी नेपाली पुगेपछि अतिरिक्त व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको आयोजकले जनाएको छ।
सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्। वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह र प्रकाश घिमिरे को अभिनयलाई विशेष रूपमा रुचाइएको बताइएको छ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै निर्माता ढकालले दर्शकको माया र समर्थनले निर्माण टिमलाई थप उत्साहित बनाएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने माउन्ट पुमोरी टिम, सुबास थापा, संयोजक शोभित बस्नेत, प्रायोजकहरू तथा सह-निर्माताहरू प्रति आभार व्यक्त गरे।
चलचित्र प्रदर्शनपछि सुरु भएको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो। रामकृष्ण ढकालले आफ्ना चर्चित आठ वटा गीत प्रस्तुत गरेका थिए भने ‘भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी र हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमाल ले चार वटा युगल गीतमा साथ दिएकी थिइन्।
सिड्नी प्रिमियरलाई ‘मालती मंगले’ को अन्तर्राष्ट्रिय रिलिज यात्राको महत्वपूर्ण चरण का रूपमा लिइएको छ। निर्माता ढकालले यसअघि अमेरिका र क्यानडाका विभिन्न सहरमा चलचित्र प्रदर्शनसँगै सांगीतिक कार्यक्रम गरिसकेका छन्, र अब यो अभियान युरोप तथा अन्य मुलुकतर्फ विस्तार गरिने तयारी छ।
रानी फिल्म्स र युनि इन्टरटेन्मेन्ट को सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन्। कथा निर्देशन स्वयंको हो भने पटकथा तथा संवादमा संयोग गुरागाईँ को सहकार्य रहेको छ। चलचित्रमा सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ को पनि अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। चलचित्रको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, कलर कृष्ण भण्डारी, ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य तथा साउन्ड मिक्सिङ डिकेश खड्गी ले गरेका हुन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd