logo

२०८३ साउन १३ बुधबार

‘पञ्चमी’ नामक नयाँ चलचित्रको औपचारिक घोषणा

‘पञ्चमी’ नामक नयाँ चलचित्रको औपचारिक घोषणा

0
SHARES
‘पञ्चमी’ नामक नयाँ चलचित्रको औपचारिक घोषणा

नेपाली चलचित्र क्षेत्रमा नयाँ रहस्य र थ्रिलरको स्वाद दिने संकेतसहित ‘पञ्चमी’ नामक नयाँ चलचित्रको औपचारिक घोषणा गरिएको छ। सार्वजनिक गरिएको थिम पोस्टरसँगै चलचित्रले दर्शकमाझ प्रारम्भिक कुतूहल पैदा गरेको हो।



यस चलचित्रमार्फत लामो समयदेखि पर्दापछाडि सक्रिय रहेका सौगात बस्नेत निर्देशनमा प्रवेश गर्न लागेका छन्। विभिन्न चर्चित निर्देशकसँग सहायक तथा व्यवस्थापकीय भूमिकामा काम गर्दै आएका बस्नेतका लागि ‘पञ्चमी’ पहिलो निर्देशकीय प्रयास हो।

सार्वजनिक पोस्टरमा देखिएका प्रतीकहरूले चलचित्रलाई थप रहस्यमयी बनाएका छन्। पुरानो टाइपराइटरमा लेखिएको ‘पञ्चमी’, माथि रहेको त्रिशूल र दुई नाग, शीर्षक वरिपरि बनाइएका पाँचवटा घेरा, बाहिरी भागमा देखिएको नाग अंकित लकेट, तथा सबैभन्दा माथि रहेको शुक्ल पक्षको अर्धचन्द्र ले कथासँग गहिरो सम्बन्ध राख्ने निर्देशकको दाबी छ।

पोस्टरमा प्रयोग गरिएको अंग्रेजी वाक्य “I Hate Whoever Comes Late” ले पनि दर्शकको ध्यान तानेको छ। यसको अर्थ र कथासँगको सम्बन्धबारे निर्माण पक्षले अहिले केही खुलाएको छैन।

निर्देशक बस्नेतका अनुसार चलचित्र साइकोलोजिकल मिस्ट्री थ्रिलर शैलीमा निर्माण हुनेछ। उनले पोस्टरमा प्रयोग गरिएका सबै डिजाइन र प्रतीकहरू चलचित्र हेरेपछि मात्र स्पष्ट हुने बताए। अहिले जटिल देखिए पनि कथासँग जोडिँदा ती सबै स्वाभाविक रूपमा बुझिने उनको भनाइ छ।

रोचक पक्ष के छ भने ‘पञ्चमी’ मौलिक कथा होइन। यो एउटा चर्चित उपन्यासको रूपान्तरण भएको जानकारी दिइएको छ। तर कुन लेखकको कुन कृतिमा आधारित हो भन्ने विषयलाई निर्माण टिमले अझै गोप्य राखेको छ।

हालसम्म चलचित्रका कलाकार, पटकथा लेखक तथा अन्य प्राविधिक टोलीबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। निर्देशकले आगामी दिनहरूमा चरणबद्ध रूपमा जानकारी सार्वजनिक गरिने र छिट्टै चलचित्रको पहिलो झलक पनि दर्शकमाझ ल्याइने बताएका छन्।

पहिलो निर्देशनमै मनोवैज्ञानिक रहस्य र थ्रिलर जस्तो चुनौतीपूर्ण विधा रोज्नु आफैंमा साहसिक कदम मानिएको छ। रहस्यमयी पोस्टर, प्रतीकात्मक प्रस्तुति र गोप्य राखिएको कथावस्तुले ‘पञ्चमी’ लाई नेपाली चलचित्र उद्योगमा चर्चाको नयाँ विषय बनाएको छ।

अब प्रश्न उठेको छ— त्रिशूल, नाग, अर्धचन्द्र, पाँचवटा घेरा र पुरानो टाइपराइटर यी सबै केवल सजावटी तत्व हुन्, वा कथाको मूल रहस्य यिनै प्रतीकभित्र लुकेको छ? विशेषगरी ‘पाँच’ सङ्ख्याको बारम्बार प्रयोगले शीर्षक ‘पञ्चमी’ को वास्तविक अर्थतर्फ संकेत गरिरहेको छ कि भन्ने जिज्ञासा अझै कायम छ।


बुधबार, १३ साउन २०८३
सम्बन्धित समाचार
Go