logo

२०८३ कार्तिक ८ शनिबार

‘अक्षरा’को ट्रेलर सार्वजनिक

‘अक्षरा’को ट्रेलर सार्वजनिक

351
SHARES
‘अक्षरा’को ट्रेलर सार्वजनिक

तीजको अवसर छोप्दै भदौ २६ गतेदेखि दर्शकमाझ आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार सार्वजनिक गरिएको ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथाको मुख्य झलक प्रस्तुत गरेको छ ।

अभिनेत्री न्यान्सी खड्काको पात्रलाई केन्द्रमा राखिएको ट्रेलरमा घरेलु हिंसाको पीडामा बाँचिरहेकी महिलाको कथा देखाइएको छ । परिवारको इच्छाअनुसार सम्पन्न परिवारका युवकसँग विवाह गरेपछि न्यान्सीको पात्रले श्रीमानबाट शारीरिक तथा मानसिक हिंसा खेप्नुपरेको देखिन्छ ।

यातना सहन नसक्ने अवस्थामा पुगेपछि भने उनको पात्रको रूप परिवर्तन हुन्छ । माता दुर्गाको उग्र स्वरूपझैँ प्रस्तुत हुँदै उनले आफूमाथि भएको हिंसाको बदला लिएको दृश्य ट्रेलरमा देखाइएको छ । बाहिरबाट कमजोर र सामान्य देखिने न्यान्सीको पात्रले कुनै विशेष किसिमको तालिम लिएको संकेतसमेत ट्रेलरले गरेको छ ।

ट्रेलर हेर्दा फिल्मको सम्पूर्ण कथावस्तु न्यान्सीको पात्रकै वरिपरि केन्द्रित रहेको बुझिन्छ । विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्ममा न्यान्सीसँगै रिस्ता बस्नेत, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपानेलगायत कलाकारको अभिनय छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन् ।

फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने अभिमन्यु निरवी र विनयराज पौडेलले पटकथा तथा संवाद तयार पारेका छन् । कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन फिल्ममा रहेको छ ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
Go