चर्चित लोकगायक खेम सेन्चुरीलाई साइबर ब्यूरोले बोलाएर उनको गीतसँग सम्बन्धित उजुरीबारे सोधपुछ गरेको छ । सेन्चुरीको रचना, स्वर तथा संगीत रहेको ‘बाहुन बाजे किन कसेको’ बोलको गीतलाई लिएर ब्यूरोमा उजुरी परेपछि उनलाई छलफलका लागि बोलाइएको हो ।
करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको गीत तथा यसको भिडियोले बाहुन समुदायलाई होच्याएको दाबी गर्दै हिन्दुवादी अभियन्ता सागर थापाले उजुरी दिएका थिए । गीतले सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजेको आरोप उजुरीमा लगाइएको छ ।
विशेषगरी गीतमा समावेश ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्दप्रति आपत्ति जनाउँदै उजुरी परेको बताइएको छ ।
उजुरीमाथि छलफल गर्न साइबर ब्यूरोमा भएको वार्तामा हिन्दु जागरण नेपालका अध्यक्ष पं. रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तानलगायत अभियन्ताको सहभागिता थियो । छलफलबाट भने तत्काल कुनै निष्कर्ष निस्किएको छैन ।
साइबर ब्यूरो स्रोतका अनुसार गीतमा संशोधन गर्ने वा युट्युबबाट हटाउने विषयमा थप छलफल गर्न दुवै पक्षलाई बिहीबार दिउँसो १ बजे पुनः बोलाइएको छ ।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीले सेन्चुरीलाई बोलाएर गीतसँग सम्बन्धित विषयमा छलफल गरिएको पुष्टि गरेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd