कुनै समय नेपाली फिल्ममा एक्सन स्टारका रूपमा जबरजस्त क्रेज बनाएका अभिनेता विराज भट्ट पछिल्लो समय फेरि चर्चामा फर्किएका छन् । उनको पुनरागमनको केन्द्रमा भने आफ्नै छोरा तथा अभिनेता समीर भट्ट देखिएका छन् ।
६० को दशकमा नेपाली फिल्ममा निकै व्यस्त रहेका विराजले ७० को दशकमा भने नेपाली फिल्मबाट दूरी बनाए । त्यस समयमा उनी भोजपुरी फिल्ममा समेत सक्रिय रहे । तर नेपाली फिल्मको कथा, प्रस्तुति र निर्माण शैलीमा आएको परिवर्तनसँगै विराजसहित उनका समकालीन धेरै कलाकारको व्यस्तता घट्दै गयो ।
विराजले २०७६ सालमा निर्देशन र अभिनय गर्दै नेपाली फिल्म ‘साङ्लो’मार्फत पुनरागमन गरे । तर फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेन । त्यसपछि उनको फिल्मी करिअर फेरि पुरानै गतिमा फर्किन सकेन ।
केही वर्षपछि विराजले अर्को प्रयास गरे । यसपटक उनले आफू मात्र होइन, छोरा समीर भट्टलाई समेत नेपाली फिल्ममा डेब्यू गराए । फिल्म थियो– ‘१२ गाउँ’ ।
‘१२ गाउँ’ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेपछि समीर रातारात चर्चामा आए । एक्सन हिरोको छवि बनाएका समीरलाई दर्शकले रुचाएपछि उनको चर्चा नेपाली फिल्मका अन्य चर्चित अभिनेतासँग हुन थाल्यो ।
समीरको यही सफलताले विराजलाई समेत पुनः चर्चाको केन्द्रमा ल्यायो । ‘१२ गाउँ’को सफलतापछि विराजलाई बाहिरी ब्यानरबाट समेत फिल्मको प्रस्ताव आउन थालेको बताइन्छ । उनको निकट स्रोतका अनुसार अहिले उनी ‘१२ गाउँ २’ निर्माणमा व्यस्त भएकाले अन्य फिल्ममा समय दिन नसकेका हुन् ।
अब दशैँको अवसर पारेर असोज ३० गते ‘१२ गाउँ २’ प्रदर्शनमा आउँदैछ । पहिलो फिल्ममा दर्शकबाट पाएको प्रतिक्रिया र समीरको बढ्दो लोकप्रियताका कारण यसको दोस्रो श्रृंखलाप्रति पनि ठूलो अपेक्षा गरिएको छ ।
यसपटक पनि विराज र समीर बुवा–छोराको जोडीका रूपमा ठूलो पर्दामा देखिँदैछन् । ‘१२ गाउँ’बाट समीरलाई स्थापित गराएका विराजका लागि ‘१२ गाउँ २’ आफ्नो पुरानो स्टारडमलाई अझ बलियो बनाउने अर्को अवसर बन्ने देखिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd