logo

२०८३ कार्तिक ९ आइतबार

पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक

पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक

156
SHARES
पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक

मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमार्फत पाँच पाण्डवको परिचय गराएको निर्माण टिमले नयाँ पोस्टरबाट द्रौपदीको चरित्र सार्वजनिक गरेको हो ।

चलचित्रमा द्रौपदीको भूमिकामा इभा गिरी प्रस्तुत भएकी छन् । रातो सारी, सोल्जर कट ब्लाउज र हल्का गहनामा देखिएकी इभाको लुक्सले महाभारतकी द्रौपदीको झल्को दिन्छ । पोस्टरमा उनको आकर्षक अवतारसँगै पृष्ठभूमिमा पाँच पाण्डवलाई पनि समेटिएको छ ।

यसअघि सार्वजनिक फस्र्टलुकमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील सिटौलालाई प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा पनि उनीहरूलाई पृष्ठभूमिमा राख्दै चलचित्रका प्रमुख पात्रहरूलाई जोडिएको छ ।

निर्देशक वसन्त निरौलाले इभाको द्रौपदी अवतार दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । युवा पुस्तामाझ लोकप्रिय इभालाई चलचित्रमा द्रौपदीको चरित्रमा प्रस्तुत गरिएको र उनको अभिनय तथा लुक्सले दर्शकको ध्यान तान्ने निर्देशकको भनाइ छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र तिहारको छेको पारेर कार्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ । हाल चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई पूर्ण रूपमा डल्बी एटमस साउन्डमा तयार पारिएको निर्देशक निरौलाले बताएका छन् ।

चलचित्रमा नेपाली फिल्म क्षेत्रका अनुभवी कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्मको अभिनय रहेको छ । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायत कलाकारको पनि महत्वपूर्ण भूमिका छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो चलचित्र ‘सोसल ड्रामा’ विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र तथा बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ ।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन छ । सम्राट बस्नेतले फाइट निर्देशन गरेका छन् भने गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक तथा पुकार धिमालको भिएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन् ।

‘पाँच पाण्डव’को देशव्यापी वितरण आरआर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।


मंगलबार, २० असोज २०८३
सम्बन्धित समाचार
Go