निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सम्पन्न भएको छ । काठमाडौंका विभिन्न स्थानमा तीन सातासम्म छायांकन गरिएको चलचित्रको गीतको दृश्यसमेत खिचिसकिएको निर्माण पक्षले जनाएको छ ।
पारिवारिक सम्बन्ध र दाम्पत्य जीवनका आरोह–अवरोहलाई मुख्य विषय बनाइएको चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । चलचित्रमा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।
पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनाल हुन् । चलचित्रको लेखन निर्देशक खनाल स्वयंले गरेका छन् भने पटकथा तथा संवाद खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन कृष्ण बा. थापाले गरेका छन् ।
गम्भीर विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्दै आएका निर्देशक खनालले ‘श्रीमान् श्रीमती’लाई पूर्ण पारिवारिक चलचित्रका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार चलचित्रले नेपाली समाजका घरपरिवारमा दैनिक रूपमा देखिने घटनाक्रम र श्रीमान्–श्रीमतीबीचको सम्बन्धका विभिन्न पक्षलाई पर्दामा उतारेको छ ।
‘नेपाली दर्शकले अहिले मन पराउने स्वादको सिनेमा बनेको छ,’ निर्देशक खनालले भने, ‘तर, बजारमा चलिरहेको कथालाई पछ्याएर मात्र चलचित्र बनाएका होइनौँ । हामीले आफ्नै ठाउँबाट इमानदारीपूर्वक कथा प्रस्तुत गरेका छौँ ।’
सामान्य नेपाली परिवारमा घटिरहने घटनालाई कथाको आधार बनाइएकाले चलचित्र दर्शकको रोजाइमा पर्ने विश्वास निर्देशक खनालले व्यक्त गरेका छन् ।
छायांकन सकिएसँगै चलचित्रको आगामी काम अघि बढ्नेछ । यद्यपि, निर्माण पक्षले प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छैन ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd