अभिनेता जितु नेपाल आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’मा भीमसेनको भूमिकामा देखिँदैछन्। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि उनको चरित्रलाई लिएर दर्शकमाझ विभिन्न जिज्ञासा उत्पन्न भएका छन्। विशेषगरी अभिनेता हरिवंश आचार्यले उनलाई ‘भीम’ भनेर सम्बोधन गर्दा जितुले आफू ‘भीमसेन’ भएको जवाफ दिएको दृश्यले चर्चा पाएको छ।
महाभारतमा भीमसेन पाँच पाण्डवमध्ये सबैभन्दा शक्तिशाली पात्रका रूपमा परिचित छन्। यस्तो स्थापित चरित्रमा जितु कसरी प्रस्तुत भएका होलान् भन्ने चासो स्वाभाविक छ। तर जितु भने आफूले चलचित्रमा महाभारतको पूर्ण भीमसेनको भूमिका निर्वाह नगरेको स्पष्ट पार्छन्।
उनका अनुसार चलचित्रको कथामा स्वर्गमा रहेका युधिष्ठिर आफ्ना चार भाइबिना खुसी हुन सकिरहेका हुँदैनन्। लामो समयपछि भाइहरू कुनै न कुनै रूपमा जन्मिएका हुन सक्ने अनुमान गर्दै उनीहरूको खोजीमा नेपाल आइपुग्छन्। त्यसपछि भेटिएका पात्रलाई युधिष्ठिरले नै भीम, अर्जुन र नकुललगायतका रूपमा चिनाउँछन्।
‘मैले आफैं भीम हुँ भनेको होइन। युधिष्ठिरले नै तँ भीम होस् भनेर चिनाउने हो। महाभारतको भीमलाई सम्झिने गरी चरित्र निर्माण गरिएको छ। भीम सानो हुनै हुँदैन भन्ने पनि त होइन’, जितुले आफ्नो भूमिकाबारे प्रस्ट्याएका छन्।
चलचित्रमा आफू इँटाभट्टामा काम गर्ने मजदुरको भूमिकामा रहेको उनको भनाइ छ। त्यसैले भीमसेनको स्थापित स्वरूपभन्दा पनि निर्देशकको निर्देशन र कथाले मागेको चरित्रअनुसार आफू प्रस्तुत भएको उनले बताए। ‘हामी पूर्ण रूपमा पाण्डव होइनौं, पाण्डवको एउटा अंश मात्र हौं। दर्शकले कल्पनाका आधारमा ती पात्रसँग जोड्नुभयो भने त्यो फरक कुरा हो’, उनी भन्छन्।
महाभारत र पाँच पाण्डवजस्ता चर्चित पात्रको विम्बमा आधारित चलचित्रको हिस्सा बन्न पाउँदा आफू उत्साहित भएको जितुको अनुभव छ। यद्यपि, ठूलो कलाकार समूह र फरक कथावस्तु भएकाले यसमा काम गर्दा केही चुनौती पनि सामना गर्नुपरेको उनले खुलाएका छन्।
जितुका लागि पहिलो चुनौती अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला रहिछन्। चलचित्रमा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन्। यसअघि विज्ञापनमा सँगै काम गरे पनि भीमसेनकी पत्नीको भूमिकामा दीपाश्रीसँग जोडी बाँधिनु उनका लागि नयाँ अनुभव थियो।
त्यसैगरी, वरिष्ठ अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक पर्दा साझा गर्न पाउनु पनि उनका लागि विशेष रह्यो। चलचित्रमा हरिवंश युधिष्ठिरको भूमिकामा छन्। युधिष्ठिर र भीमसेनबीचको सम्बन्धलाई पर्दामा प्रस्तुत गर्दा फरक अनुभूति भएको जितु बताउँछन्।
पाँच पाण्डवको कथामा आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले आफ्नो अभिनयलाई कुन रूपमा सम्झिने भन्ने अर्को चुनौती रहेको उनले सुनाए। धेरै कलाकारको उपस्थिति र फराकिलो कथावस्तु भएकाले आफ्नो चरित्रलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिएको उनको भनाइ छ।
जितु नेपाल नाम सुन्नेबित्तिकै दर्शकले कमेडीको अपेक्षा गर्नु स्वाभाविक हो। उनी स्वयं पनि दर्शकको यो अपेक्षासँग सहमत छन्। तर ‘पाँच पाण्डव’ एक जना कलाकारको मात्र कथा नभएकाले सबै पात्रको आ–आफ्नै भूमिका र कथा रहेको उनी बताउँछन्।
‘दर्शकले खोज्ने कमेडी यसमा केही हदसम्म भेट्नुहुन्छ। तर कथाले र दृश्यले जति मागेको छ, त्यहीअनुसार कमेडी राखिएको छ। यो पाँच जना दाजुभाइको कथा भएकाले सबै कलाकारका आ–आफ्ना पाटा छन्’, जितुले भने।
निर्देशक वसन्त निरौलासँग यसअघि चलचित्र ‘ज्वाइँ साब’मा काम गरिसकेका जितुको लेखक सुशील पौडेलसँग पनि पुरानै सम्बन्ध छ। प्रस्तुतकर्ता नवीन श्रेष्ठसँग चलचित्र ‘लाज शरणम्’ निर्माणको समयदेखि नै उनको चिनजान थियो। निरन्तरको भेटघाट र आपसी सम्बन्धकै क्रममा ‘पाँच पाण्डव’मा काम गर्ने प्रस्ताव आएको उनले बताए। पाँच पाण्डवमध्ये एक पात्रका लागि आफ्नो नाम जोडिनु स्वाभाविक भएको उनको भनाइ छ।
वसन्त निरौलाको निर्देशनमा तयार भएको ‘पाँच पाण्डव’लाई सामाजिक कथावस्तुमा आधारित चलचित्रका रूपमा प्रस्तुत गरिएको छ। लेखक सुशील पौडेलले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको बताएका छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। चलचित्रमा जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। श्याम तामाङको छायांकन रहेको चलचित्रलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको छ भने कोरियोग्राफी गम्भीर विष्ट र विक्रम स्वाँरले गरेका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। दर्शकले चलचित्रमा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउने निर्माण पक्षले जनाएको छ।
ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। चलचित्र कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd