प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाली फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । यही शुक्रबार अर्थात् कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । फिल्मलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी र विरोध भइरहेका बेला निर्माण पक्षले दोस्रो ट्रेलर सार्वजनिक गरेको हो ।
तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको मूल कथालाई उजागर गरेको छ । ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई युधिष्ठिरको भूमिकामा प्रस्तुत गरिएको छ । स्वर्गबाट पृथ्वीलोकमा आएका युधिष्ठिरले आफ्ना चार भाइको खोजी गर्ने प्रसंगबाट कथा अघि बढेको देखिन्छ । पाँचै पाण्डवको पुनर्मिलनपछि कलियुगमा व्याप्त अन्याय र अत्याचारविरुद्ध महाभारत सुरु गर्ने कथावस्तुलाई ट्रेलरमा हास्यरससहित प्रस्तुत गरिएको छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्यसँगै आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार र सीता न्यौपानेलगायत कलाकारको अभिनय छ ।
काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । पत्रकार सुशील पौडेलले लेखेको कथामा आधारित फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन र अर्जुन पोखरेलको संगीत रहेको छ ।
त्यस्तै, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd