चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक गरेका छन्। सुफी शैलीमा तयार पारिएको उक्त गीत जननी नेपालको प्रस्तुतिमा आइतबार गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
गीत तथा गजल गायनबाट स्थापित पहिचान बनाएका गौतम पछिल्लो समय चलचित्र संगीतमा समेत सक्रिय छन्। चलचित्र ‘अञ्जिला’को ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’ गीतबाट उनले फिल्म संगीतमा पनि आफ्नो छुट्टै छाप छाडेका थिए। ‘मोहर’, ‘गौँथली’, ‘जनै हराएको मान्छे’ र ‘रिमै’लगायतका थुप्रै चलचित्रमा उनले स्वर तथा संगीत दिएका छन्। करिब पाँच सय गीत तथा गजलमा स्वर भरिसकेका गौतमले यसपटक भने चलचित्रभन्दा बाहिर रहेर एकल सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।
गीतमा केदारप्रसाद खतिवडाको शब्द रहेको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका खतिवडाले गीतमार्फत अधुरो प्रेम, टुटेको विश्वास र बिछोडको गहिरो पीडालाई अभिव्यक्त गरेका छन्।
देउरालीमा फूल चढाएर जीवनभर साथ रहने कसम खाएका प्रेमीहरू अचानक छुट्टिनुपर्दाको पीडालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ। बेमौसमी भेल, पहिरो र चर्किएको ऐनाजस्ता प्रतीकात्मक विम्बले प्रेममा आएको विखण्डन र भत्किएका सपनाको कथा बोल्छन्। समय बित्दै जाँदा पनि कम हुनुको साटो झन् गहिरिँदै जाने मनको घाउ गीतको मुख्य भाव बनेको छ।
गीतको भावनात्मक पक्षलाई भिडियोमा समेत कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा एक युवकले अत्यन्तै माया गरेकी युवतीलाई गम्भीर रोगका कारण गुमाउन पुग्छन्। एउटा सांगीतिक कार्यक्रममा सहभागी भएका ती युवकले गौतमको स्वरमा गीत सुन्दै गर्दा पुराना सम्झनामा हराउँछन्। त्यसपछि उनीहरूको प्रेम, खुसी र अन्ततः बिछोडको कथा दृश्यमार्फत खुल्दै जान्छ।
भिडियोमा थानेश्वर गौतम स्वयं मञ्चमा गीत प्रस्तुत गरिरहेको देखिन्छन् भने गीतकार खतिवडा पनि कार्यक्रममा सहभागी छन्। सुरेश कोहली र सम्पदा अमगाईंले प्रेमी–प्रेमिकाको भूमिकामा अभिनय गरेका छन्।
विशाल घिमिरेको कथा तथा निर्देशन रहेको भिडियोमा समीप तामाङले कोरियोग्राफी गरेका छन्। बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको गीतमा नारायण डंगालले संगीत संयोजन गरेका छन्। खडक बजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
सुफी संगीतको मौलिक स्वाद दिन तबलामा भुवन गन्धर्व, ढोलक र मादलमा भुवन गन्धर्व, इसराजमा सन्तोष श्रेष्ठ, सारङ्गीमा धर्म गन्धर्व र बाँसुरीमा गोपाल देवले साथ दिएका छन्। प्रेम र वियोगको संवेदनालाई संगीत, शब्द र दृश्यको संयोजनमार्फत प्रस्तुत गरिएको ‘आँखामा बसेको मान्छे’ले श्रोतामाझ भावनात्मक प्रभाव छाड्ने अपेक्षा गरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd