logo

२०८३ कार्तिक २१ शुक्रबार

नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ औपचारिक रूपमा सञ्चालनमा

नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ औपचारिक रूपमा सञ्चालनमा

  • kollywood_khabar
  • मंगलबार, १८ कार्तिक २०८३
52
SHARES
नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ औपचारिक रूपमा सञ्चालनमा

नेपाली चलचित्र तथा अन्य सिर्जनात्मक सामग्रीलाई डिजिटल माध्यमबाट विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सदस्यता प्रणालीमा आधारित यस प्लेटफर्ममार्फत दर्शकले एउटै सब्सक्रिप्सनबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, मनोरञ्जनात्मक शो तथा वेब सिरिज हेर्न सक्नेछन्।

नेपालमा इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै गए पनि नेपाली मौलिक सामग्री हेर्न सहज र व्यवस्थित डिजिटल प्लेटफर्मको कमी रहँदै आएको छ। युट्युबमा छरिएर रहेका सामग्री खोज्नुपर्ने र चलचित्र हेर्न सिनेमा हलमै पुग्नुपर्ने बाध्यतालाई कम गर्ने उद्देश्यले मेरोस्ट्रिम अघि आएको हो।

दर्शकको आवश्यकता र आर्थिक क्षमतालाई ध्यानमा राख्दै प्लेटफर्मले बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन प्रकारका सदस्यता योजना सार्वजनिक गरेको छ।

बेसिक योजनाको मासिक शुल्क २९९ रुपैयाँ तोकिएको छ। यस योजनामा एक पटकमा एउटा डिभाइसबाट फुल एचडी गुणस्तरमा सामग्री हेर्न सकिन्छ। तीन महिनाका लागि ८४९, छ महिनाका लागि १ हजार ६०९ र वार्षिक सदस्यताका लागि २ हजार ८६९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, स्ट्यान्डर्ड योजनाको मासिक शुल्क ३९९ रुपैयाँ रहेको छ। यसमा एकैपटक दुईवटा डिभाइसबाट १०८०पी गुणस्तरमा सामग्री हेर्न सकिनेछ। तीन महिनाको सदस्यताका लागि १ हजार १२९, छ महिनाका लागि २ हजार १४९ र एक वर्षका लागि ३ हजार ८२९ रुपैयाँ तिर्नुपर्नेछ।

परिवारका सदस्यले एकसाथ सामग्री हेर्न सक्ने गरी ल्याइएको प्रिमियम योजनाको मासिक शुल्क ५९९ रुपैयाँ छ। यस योजनामा चारवटा डिभाइससम्म एकैपटक प्रयोग गर्न मिल्नेछ भने उपलब्ध सामग्रीअनुसार 4K अल्ट्रा एचडी गुणस्तरमा समेत हेर्न सकिनेछ। तीन महिनाको शुल्क १ हजार ६९९, छ महिनाको ३ हजार २२९ र वार्षिक सदस्यताको शुल्क ५ हजार ७४९ रुपैयाँ राखिएको छ।

तीनवटै सदस्यता योजनामा विज्ञापनबिना सामग्री हेर्न पाइनेछ। एउटै खातामा चारवटासम्म प्रोफाइल बनाउन सकिने सुविधा पनि उपलब्ध छ। त्यस्तै, क्रोमकास्ट र एयरप्लेमार्फत टेलिभिजनमा सामग्री हेर्न सकिने व्यवस्था गरिएको छ। लामो अवधिको सदस्यता लिने दर्शकलाई विशेष छुटसमेत दिइएको छ। छ महिनाको योजनामा १० प्रतिशत र वार्षिक योजनामा २० प्रतिशतसम्म बचत हुने प्लेटफर्मले जनाएको छ।

मेरोस्ट्रिमले एउटै सदस्यतामार्फत आफ्नो सम्पूर्ण सामग्री सूचीमा पहुँच दिने जनाएको छ। नयाँ सामग्री नियमित रूपमा थपिँदै जानेछन्। यद्यपि, विभिन्न देशमा सामग्री प्रसारणका लागि फरक–फरक इजाजत आवश्यक पर्ने भएकाले दर्शकले आफू रहेको देशमा उपलब्ध सामग्री मात्र हेर्न पाउनेछन्।

भुक्तानीका लागि भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिनेछ। नेपालसहित केही देशका प्रयोगकर्ताले खल्ती र इसेवाबाट नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्नेछन्। कार्डमार्फत गरिएको भुक्तानी स्वतः नवीकरण हुने व्यवस्था छ भने खल्ती र इसेवाबाट भुक्तानी गर्नेले सदस्यता अवधि सकिएपछि पुनः भुक्तानी गर्नुपर्नेछ।

दर्शकले चाहेको समयमा सदस्यता रद्द गर्न सक्ने व्यवस्था पनि प्लेटफर्मले गरेको छ। सदस्यता रद्द गर्दा अतिरिक्त शुल्क लाग्ने छैन र भुक्तानी गरिएको अवधि समाप्त नहुँदासम्म सामग्री हेर्न पाउने सुविधा कायम रहनेछ।

प्रिमियम योजनामा उपलब्ध सामग्री र डिभाइसअनुसार 4K गुणस्तरमा स्ट्रिमिङ गर्न सकिनेछ। उत्कृष्ट अनुभवका लागि कम्तीमा २५ एमबीपीएस इन्टरनेट गति सिफारिस गरिएको छ। इन्टरनेटको अवस्थाअनुसार भिडियोको गुणस्तर स्वतः समायोजन हुने भएकाले कमजोर नेटवर्कमा समेत सामग्री हेर्न सकिने कम्पनीको भनाइ छ।

मोबाइल, ट्याब्लेट तथा ल्यापटपबाट ब्राउजरमै प्लेटफर्म प्रयोग गर्न सकिनेछ। सामग्री हेर्दै गर्दा सबटाइटल, अडियो भाषा र प्लेब्याक गति परिवर्तन गर्न मिल्ने सुविधा पनि राखिएको छ। एउटा डिभाइसमा हेर्न छोडेको सामग्री अर्को डिभाइसबाट त्यही स्थानदेखि निरन्तर हेर्न सकिने व्यवस्था छ।

सञ्चालनको प्रारम्भिक चरणमै मेरोस्ट्रिमले विभिन्न विधाका नेपाली सामग्री उपलब्ध गराएको छ। प्लेटफर्ममा चलचित्र ‘कुमारी’ र ‘कठपुतली’, लघुचलचित्र ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’ समावेश छन्। यसका अतिरिक्त स्ट्यान्डअप कमेडी शो ‘मेरो माइक’ र ‘हजुर आमाको कथा’ पनि दर्शकले हेर्न पाउनेछन्।

नेपाली चलचित्रको प्रदर्शन अझै पनि मुख्यतः सिनेमा हलमा निर्भर छ। विशेषगरी वृत्तचित्र, लघुचलचित्र र प्रयोगात्मक विधाका सिर्जनाले हलमा पर्याप्त स्थान पाउन नसकिरहेको अवस्थामा डिजिटल प्लेटफर्म प्रभावकारी विकल्प बन्न सक्ने देखिन्छ। अर्कोतर्फ, निःशुल्क प्लेटफर्ममा सामग्री उपलब्ध गराउँदा निर्माताले नियमित आम्दानीको आधार बनाउन कठिन हुने गरेको छ।

विदेशी ओटीटी प्लेटफर्ममा नेपाली सामग्रीको सीमित उपलब्धता र नेपाली दर्शकका लागि सदस्यता शुल्क तथा भुक्तानी प्रक्रियामा देखिने असहजतालाई समेत ध्यानमा राखेर मेरोस्ट्रिमले स्थानीय बजार लक्षित सेवा अघि सारेको हो।

यस प्लेटफर्मले नेपाली निर्माता, निर्देशक, कलाकार तथा स्वतन्त्र सिर्जनाकर्मीका लागि आफ्ना सिर्जना दर्शकमाझ पुर्‍याउने नयाँ माध्यम उपलब्ध गराउने अपेक्षा गरिएको छ। सदस्यता प्रणालीबाट सिर्जनाकर्मीले आम्दानीको निरन्तर स्रोत विकास गर्न सक्ने सम्भावना पनि यससँग जोडिएको छ। बहुभाषिक अडियो र सबटाइटलको सुविधाले नेपाली सामग्रीलाई विदेशमा रहेका नेपालीसँगै अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

मेरोस्ट्रिम प्रयोग गर्न इच्छुक दर्शकले यसको आधिकारिक वेबसाइटमा गएर इमेलमार्फत खाता खोल्न, इमेल प्रमाणित गर्न, आफूलाई उपयुक्त सदस्यता छनोट गरी भुक्तानी गर्न सक्नेछन्। प्रक्रिया पूरा गरेलगत्तै सामग्री हेर्न सुरु गर्न सकिनेछ। वेबसाइटका अतिरिक्त एपका रूपमा इन्स्टल गरेर पनि सेवा प्रयोग गर्न सकिनेछ।

नेपाली सिर्जनशीलता र मौलिक सामग्रीलाई डिजिटल माध्यमबाट फराकिलो बजार उपलब्ध गराउने लक्ष्यसहित सुरु भएको मेरोस्ट्रिमले आगामी दिनमा आफ्नो सामग्री सूची विस्तार गर्दै लैजाने जनाएको छ।


मंगलबार, १८ कार्तिक २०८३
सम्बन्धित समाचार
Go