गुरुङ समुदायको सभ्यता, संस्कृति र ऐतिहासिक परिवेशलाई समेटेर निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को छायांकन कार्य पूरा भएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम)को परिकल्पनामा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो ।
अभियान फिल्म्स प्रोडक्सन प्रालि, पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको शुभमुहूर्त गत असोज १ गते पर्यटकीय गाउँ सिक्लेसबाट गरिएको थियो । सिक्लेस र आसपासका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । अभिनेत्री संस्कृति गुरुङले यसै चलचित्रबाट अभिनय यात्रा सुरु गर्दैछिन् । उनीसँगै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन् । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा विशाल राई र सुरेन्द्र सिंह सहायक निर्देशकका रूपमा छन् । कला निर्देशनको जिम्मेवारी कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले सम्हालेका छन् ।
त्यस्तै, कमला छ्यान्त्यालले पोसाक व्यवस्थापन, नवीन श्रेष्ठले लाइभ साउन्ड, विक्रम थापाले मेकअप र समीर गुरुङले बीटीएस छायांकन गरेका छन् । चलचित्रको नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन् भने टेक गुरुङ सहनिर्माण नियन्त्रकका रूपमा रहेका छन् ।
चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको हो । अब निर्माण टोलीले सम्पादनलगायत पोस्ट प्रोडक्सनका काम अघि बढाउने तयारी गरेको छ ।
गुरुङ समुदायको मौलिक पहिचान, परम्परा, संस्कार र ऐतिहासिक जीवनशैलीलाई सिनेमाको माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले ‘बुकी फूल’ निर्माण गरिएको हो । गुरुङ सभ्यताको पृष्ठभूमिमा आधारित कथालाई पर्दामा उतार्ने प्रयासले चलचित्रलाई अन्य नेपाली फिल्मभन्दा फरक बनाउने निर्माण पक्षको अपेक्षा छ ।
छायांकनका क्रममा सहयोग गर्ने कलाकार, प्राविधिक, स्थानीयवासी, शुभेच्छुक तथा चलचित्रसँग जोडिएका सम्पूर्णप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ । सिक्लेस र ताङतिङलगायतका स्थानको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक परिवेशलाई समेटिएको चलचित्र अब पोस्ट प्रोडक्सनको चरणमा प्रवेश गरेको छ । प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd