logo

२०८३ कार्तिक २१ शुक्रबार

चिरञ्जीवी भवः’को गीत सार्वजनिक

चिरञ्जीवी भवः’को गीत सार्वजनिक

  • kollywood_khabar
  • शुक्रबार, २१ कार्तिक २०८३
0
SHARES
चिरञ्जीवी भवः’को  गीत सार्वजनिक

चलचित्र ‘चिरञ्जीवी भवः’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ। ‘जाले रुमाल’ बोलको गीत आज ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। लोकलयमा आधारित डान्सिङ बिटको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर सुन्न सकिन्छ। गीतका शब्द दीपकप्रसाद आचार्यले लेखेका हुन् भने संगीत बाबुल गिरीको छ।

प्रेमिल भाव र दोहोरी शैलीमा तयार गीतमा एक युवक र युवतीबीचको आकर्षणलाई प्रस्तुत गरिएको छ। एकअर्काको रूप र सौन्दर्यबाट प्रभावित दुई पात्रले सवाल–जवाफमार्फत प्रेमको भाव व्यक्त गरेका छन्। मौलिक शब्द चयन र आकर्षक हुकलाइन गीतका विशेषता बनेका छन्।

गीतको भिडियोमा विवाह समारोहको परिवेशलाई मुख्य आधार बनाइएको छ। आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई विवाहको माहोलमा प्रस्तुत गरिएको छ। उनीहरूको विवाहमा परिवारका सदस्यले गरेको रमाइलो, आपसी संवाद र उत्सवमय वातावरणले भिडियोलाई जीवन्त बनाएको छ। यससँगै चलचित्रका अधिकांश कलाकारलाई समेटेर पात्रहरूबीचको पारिवारिक सम्बन्ध र अन्तरसम्बन्धसमेत संकेत गरिएको छ।

भिडियोको अन्त्यतिर आउने अप्रत्याशित घटनाले भने दर्शकमा थप कौतूहल सिर्जना गर्छ। सामान्य विवाह समारोहबाट सुरु भएको दृश्यले अन्तिममा कुन मोड लिन्छ भन्ने जिज्ञासा जगाउने प्रयास गरिएको छ। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्।

चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। हरिवंश ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिँदैछन्। करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय छ।

ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ आगामी माघ १ गते अर्थात् जनवरी १५ देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र हाल पोस्ट प्रोडक्सनको चरणमा छ।

गत वर्ष आचार्य निर्देशित ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेपछि उनको दोस्रो निर्देशकीय चलचित्रप्रति पनि दर्शकको चासो बढेको छ। कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपकप्रसाद आचार्यले चलचित्र निर्माण गरेका हुन्। कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा ढालेका छन्।

सामाजिक कथावस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, उनीहरूबीचको सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेको छ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन्। शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रमा बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत छ। गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।

चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।


शुक्रबार, २१ कार्तिक २०८३
सम्बन्धित समाचार
Go