महाभारतका पात्रलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै निर्माण गरिएको नेपाली फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनको तयारीमा छ । यही शुक्रबार कात्तिक २० गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको फिल्म रिलिजअघि नै विवादमा परेको छ ।
फिल्मको पोस्टरमा द्रौपदीका रूपमा प्रस्तुत गरिएकी अभिनेत्री इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड शैलीमा देखाइएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यही विषयलाई लिएर फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरीसमेत परेको छ ।
तर, विवादकै बीच केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शनका लागि अनुमति दिएको छ । सेन्सर बोर्डले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको हो । सेन्सरको स्वीकृतिसँगै फिल्मको प्रदर्शनमा देखिएको कानुनी अवरोध हटेको छ ।
सेन्सरबाट अनुमति पाएपछि निर्देशक वसन्त निरौलाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले फिल्मले कसैको भावनामा चोट पुर्याउने उद्देश्य नराखेको उल्लेख गर्दै लेखेका छन्, ‘पाँच पाण्डव’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसले हाम्रो नियत र फिल्मको सन्देश दुवै स्पष्ट पार्छ, हामीले कसैलाई ठेस पुर्याउने काम गरेका छैनौं । अब सिनेमाघरमा भेटौं ।’
द्वापरयुग र कलियुगको कथालाई जोडेर निर्माण गरिएको फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ ।
काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd