logo

२०८३ कार्तिक २१ शुक्रबार

अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, सिनेमा अनुभवलाई बनाउँदै विशेष

अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, सिनेमा अनुभवलाई बनाउँदै विशेष

  • kollywood_khabar
  • बुधबार, १९ कार्तिक २०८३
26
SHARES
अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, सिनेमा अनुभवलाई बनाउँदै विशेष

दर्शकलाई विश्वस्तरीय सिनेमा अनुभव प्रदान गर्ने उद्देश्यसहित काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले आफ्नो हललाई अत्याधुनिक प्रविधि र सुविधासहित पुनःसज्जित गरेको छ । नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका रूपमा परिचित बिग मुभिजले करिब दुई दशकपछि आफ्नो पूर्वाधार र प्रविधिमा व्यापक सुधार गरेको हो ।

‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’ नारालाई आत्मसात् गर्दै हलको दृश्य प्रविधि, ध्वनि प्रणाली, सिटिङ व्यवस्था र आन्तरिक सजावटमा विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ ।

नयाँ व्यवस्थाअन्तर्गत बिग मुभिजमा युरोपेली ब्रान्ड बारकोको अत्याधुनिक ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको छ । बारको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स ब्राइटनेस र ४के (४०९६x२१६०) नेटिभ रिजोलुसन क्षमता रहेको छ । यसले पर्दामा चलचित्रका दृश्यलाई थप चम्किलो, स्पष्ट र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

रङको गुणस्तरलाई समेत प्राथमिकता दिँदै ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० तथा डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि प्रयोग गरिएको छ । विभिन्न आकारका विशेष सिल्भर स्क्रिनले दृश्यको गुणस्तरलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

ध्वनि प्रणालीमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । बिग मुभिजले ६४ च्यानल क्षमताको डल्बी एटमस थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरेको छ । प्रत्येक स्पिकरमा छुट्टाछुट्टै अडियो फिड उपलब्ध हुने यस प्रविधिले हलभित्र चारैतिरबाट ध्वनि आएको अनुभूति गराउनेछ । सीपी–५ए साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ । विशेषगरी एक्सन तथा ध्वनिप्रधान चलचित्र हेर्दा दर्शकले थप वास्तविक अनुभूति लिन सक्नेछन् ।

दर्शकको आरामलाई ध्यानमा राख्दै सिटिङ व्यवस्थामा पनि सुधार गरिएको छ । हलमा २२ इन्चका २५५ वटा ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी राखिएका छन् । एर्गोनोमिक डिजाइन, विशेष कपडाको प्रयोग र तीन तहमा लक गर्न मिल्ने सुविधाले लामो समयसम्म चलचित्र हेर्दा सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ । त्यस्तै, थप विलासी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनर सिट पनि जडान गरिएको छ ।

यसका अतिरिक्त हलभित्र नयाँ कार्पेट, ध्वनि अनुकूलित भित्ते कभरिङ र आधुनिक प्रकाश व्यवस्थापन गरिएको छ ।

बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा रिनोभेसनबारे जानकारी दिँदै प्रविधि र सुविधाका क्षेत्रमा आफ्नो अग्रणी पहिचानलाई निरन्तरता दिन यो परिवर्तन गरिएको बताए ।

‘नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ । अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ,’ उनले भने ।

नयाँ प्रविधि र सुविधासँगै बिग मुभिजले दर्शकलाई उत्कृष्ट दृश्य, गुणस्तरीय ध्वनि, आरामदायी सिट र समग्रमा फरक सिनेमा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।


बुधबार, १९ कार्तिक २०८३
सम्बन्धित समाचार
Go