logo

२०८३ भाद्र २३ मंगलबार

‘हली’ र ‘कमला मिस’ आमनेसामने, सामाजिक कथासहित दुई नेपाली फिल्मको प्रतिस्पर्धा

‘हली’ र ‘कमला मिस’ आमनेसामने, सामाजिक कथासहित दुई नेपाली फिल्मको प्रतिस्पर्धा

  • kollywood 1
  • शुक्रबार, २२ साउन २०८३
390
SHARES
‘हली’ र ‘कमला मिस’ आमनेसामने, सामाजिक कथासहित दुई नेपाली फिल्मको प्रतिस्पर्धा

नेपाली चलचित्रको पर्दामा आजदेखि दुई नयाँ फिल्मले एकसाथ यात्रा सुरु गरेका छन् । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएका ‘हली’ र ‘कमला मिस’ फरक विषयवस्तु बोकेर दर्शकमाझ पुगेका हुन् । दुवै फिल्मको कथाको केन्द्रमा समाजसँग जोडिएका संवेदनशील विषय रहेकाले यसपटकको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

ओम प्रतीकको निर्देशनमा बनेको ‘हली’ ले पश्चिम नेपालमा अझै कायम रहेको छाउपडी प्रथालाई कथाको मुख्य विषय बनाएको छ । सामाजिक कुरीति र त्यसविरुद्धको आवाजलाई पर्दामा प्रस्तुत गर्दै फिल्मले सामान्य व्यक्तिबाट पनि समाज परिवर्तन सम्भव हुने सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ ।

पूजा गुरुङ निर्मित फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ । फिल्ममा सामाजिक चेतनासँगै मनोरञ्जनलाई पनि जोड्ने प्रयास गरिएको छ ।

अर्कोतर्फ, वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा तयार भएको ‘कमला मिस’ ले बालमनोविज्ञान, शिक्षा, मातृत्व र पारिवारिक सम्बन्धलाई कथाको आधार बनाएको छ । आमाको माया र स्नेहबाट टाढा रहेका बालबालिकाको भावनात्मक अवस्था तथा उनीहरूको आमाप्रतिको खोजीलाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।

नेपाली साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बरबाद होस्’ बाट प्रेरित ‘कमला मिस’ मा नीर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायत कलाकारको अभिनय रहेको छ ।
एकै दिन प्रदर्शनमा आएका यी दुई फिल्मको कथा फरक भए पनि दुवैले सामाजिक विषयलाई

प्राथमिकता दिएका छन् । ‘हली’ ले सामाजिक कुरीति र परिवर्तनको मुद्दा उठाउँदा ‘कमला मिस’ ले बालबालिकाको मनोविज्ञान, शिक्षा र मातृत्वको भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ ।

यसअघि नै प्रदर्शनमा रहेको ‘गौँथली’ चौथो सातामा प्रवेश गरिरहँदा ‘हली’ र ‘कमला मिस’ को आगमनले नेपाली फिल्मको प्रदर्शनमा थप प्रतिस्पर्धा बढाएको छ । अब सप्ताहन्तमा हलमा देखिने दर्शकको उपस्थितिले यी दुई नयाँ फिल्ममध्ये कुनले बलियो सुरुवात गर्छ भन्ने संकेत दिनेछ ।


शुक्रबार, २२ साउन २०८३
सम्बन्धित समाचार
Go